जीवनसँग नजोडिएको साहित्य सार्थक हुँदैन : डा. क्षेत्री

ड्रागन मिडिया समाचार कक्ष
साहित्य सन्ध्याको ४७८औँ नियमित मासिक श्रृंखलाअन्तर्गत शनिबार आयोजित ‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’ विषयक छलफल तथा कविगोष्ठीमा साहित्यलाई जनजीवन, आर्थिक अवस्था र सामाजिक रूपान्तरणसँग जोड्नुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान आर्थिक अवस्थाको विश्लेषण गर्दै यथार्थ जीवनसँग नजोडिएको साहित्य सार्थक हुन नसक्ने बताए। रोजगारीका लागि विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीका पीडा, संघर्ष र अनुभव साहित्यमा प्रभावकारी रूपमा समेटिनुपर्ने उनको भनाइ थियो।
जनताको जीवनस्तर दिनप्रतिदिन कष्टकर बन्दै गएको र तत्काल पर्याप्त रोजगारी सिर्जना हुने अवस्था नदेखिएको उल्लेख गर्दै उनले आर्थिक सङ्कटको प्रभावबाट साहित्यिक क्षेत्र पनि अलग रहन नसक्ने बताए।
आधुनिक प्रविधिले साहित्यिक सिर्जनाको प्रसारमा नयाँ सम्भावना खोलेको चर्चा गर्दै डा. क्षेत्रीले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट साहित्यकारका कृतिको प्रचारप्रसार, वर्गीकरण र बजारीकरणमा सहयोग पुग्न सक्ने बताए। उनले प्रविधिलाई सिर्जनात्मक र जिम्मेवार ढङ्गले सदुपयोग गर्नुपर्नेमा जोड दिए।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ले साहित्यकार सुमी लोहनीद्वारा संस्कृतको भागवतबाट अनुसिर्जित ‘अष्टावक्र महागीतामृत’ कृतिमाथि परिचर्चा गरे।
वाचित रचनामाथि टिप्पणी गर्दै उनले समाजका कुरूप पक्ष, विकृति र विसङ्गतिमाथि प्रहार गर्दै रूपान्तरणको सन्देश दिन सक्ने सिर्जना मात्रै प्रभावकारी र उत्कृष्ट हुने विचार व्यक्त गरे।
कविगोष्ठीमा ओमप्रसाद कोइराला, नर्मदेश्वरी सत्याल, गायत्रीकुमार चापागाईँ, डा. रूपनारायण श्रेष्ठ, महेशराज खरेल, राजन आचार्य, लक्ष्मण तिमल्सिना, चेवन बस्नेत, पोष चापागाईँ, कृष्ण बाउसे, शान्ता दाहाल, कृष्णप्रसाद पौडेल जस्ताघरे, कुमार नेपाल, डा. मनोज जोशी, माधव प्रधान, नवराज श्रेष्ठ, डा. गोविन्दप्रसाद आचार्य, जमुना आचार्य, शिवप्रसाद आचार्य, दिनेशराज खरेल, वैरागी जेठा, लीलाराज दाहाल, बलराम विष्ट, केदारनाथ आचार्य, एमपी पाण्डे र प्रमोद भण्डारीले आ–आफ्ना रचना वाचन गरे।
कार्यक्रमको समापनमा साहित्य सन्ध्याका अध्यक्ष राम विनयले सामाजिक विकृति र शासकीय विसङ्गतिविरुद्ध आवाज उठाउँदै सार्वजनिक बहस र वैचारिक विमर्शलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।





