अतिभारी वर्षाको जोखिम : २३ जिल्लामा रात्रिकालीन सवारी रोक्न निर्देशन

ड्रागन मिडिया समाचार कक्ष
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमन रोक्न सम्बन्धित जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको शनिबार सम्पन्न बैठकले मौसम र जोखिमको अवस्था हेरेर ती जिल्लामा जुनसुकै समयमा सवारी आवागमन बन्द गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको प्राधिकरणले जनाएको छ। अन्य जिल्लामा पनि सम्भावित विपदलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनअनुसार शनिबार र आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा अतिभारी वर्षा हुने सम्भावना छ।
देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
प्राधिकरणले पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा विपद प्रतिकार्य गर्नुपर्ने अवस्था उत्पन्न हुन सक्ने पूर्वानुमान गरेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै ती जिल्लाका जिल्ला सुरक्षा समिति र स्थानीय तहलाई उच्च सतर्कता अपनाउन तथा आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।
भारीदेखि अतिभारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भूक्षय, कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबान हुन सक्ने प्राधिकरणले चेतावनी दिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह, स्वयंसेवक र अन्य सरोकारवाला निकायलाई तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
जोखिमयुक्त राजमार्ग र सडकमा पहिरो तथा गेग्रानका कारण अवरोध उत्पन्न हुन सक्ने भन्दै डोजर, एक्साभेटर र लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सडक विभाग र सम्बद्ध निकायलाई अनुरोध गरिएको छ।
पूर्वसूचना र चेतावनीअनुसार उच्च जोखिममा रहेका बस्तीका व्यक्ति तथा परिवारलाई विपद उत्पन्न हुनुअघि नै आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई आग्रह गरिएको छ।
प्राधिकरणले विपद पूर्वतयारी तथा प्रतिकार्यमा सहयोग र सहकार्य गर्न विकास साझेदार संस्था, नागरिक समाज, सञ्चार क्षेत्र, निजी क्षेत्र र सर्वसाधारणलाई अनुरोध गरेको छ। आपतकालीन गोदाममा रहेका राहत तथा उद्धार सामग्री आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ।





