भारी वर्षाको जोखिम : मकवानपुरका सडकमा रात्रिकालीन सवारी रोक

ड्रागन मिडिया समाचार कक्ष
भारीदेखि अतिभारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लासँग जोडिएका प्रमुख सडकमार्गका लागि ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा शनिबार जारी सूचनामा देशभर मनसुनी वर्षा सक्रिय रहेको तथा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार बागमती प्रदेशसहित मकवानपुर र आसपासका क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने उल्लेख छ।
वर्षाका कारण बाढी, पहिरो, सडक कटान, डुबान तथा गेग्रान बहावको उच्च जोखिम रहेकाले मानवीय तथा भौतिक क्षति न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित गर्न प्रशासनले सतर्कता अपनाएको हो।
प्रशासनले मकवानपुर–काठमाडौँ, मकवानपुर–चितवन, मकवानपुर–ललितपुर र मकवानपुर–सिन्धुली सडकमार्ग प्रयोग गर्ने यात्रु, सवारी चालक, यातायात व्यवसायी तथा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
सूचनाअनुसार शनिबार साँझदेखि आइतबार बिहान ५ बजेसम्म हेटौँडा हुँदै देउरालीबाट काठमाडौँ जाने सवारीसाधन चौकीटोलमा रोकिनेछन्। कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारीसाधनलाई भने शनिबार साँझ ६ बजेदेखि चौघडामै रोक्ने व्यवस्था गरिएको छ।
प्रशासनले रातिको समय र निरन्तर वर्षा भइरहेको अवस्थामा अत्यावश्यकबाहेक यात्रा नगर्न तथा पहिरो, बाढी, सडक कटान र नदी–खोल्साको बहाव बढ्न सक्ने क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
नदी, खोला तथा खोल्सामा पौडी खेल्न, नुहाउन वा किनारमा अनावश्यक रूपमा नजान र बालबालिकालाई पनि त्यस्ता क्षेत्रमा जान नदिन अनुरोध गरिएको छ।
सडक अवरुद्ध वा जोखिमपूर्ण भए सुरक्षाकर्मी तथा सम्बन्धित निकायको निर्देशन पालना गरी सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ। पानी बगिरहेको सडक, पुल तथा डुबान भएको स्थान पार गर्ने प्रयास नगर्न पनि सचेत गराइएको छ।
लामो दूरीको यात्रा शुरु गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न र आधिकारिक निकायबाट यात्रा सुरक्षित रहेको जानकारी प्राप्त भएपछि मात्रै अघि बढ्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।
आपतकालीन अवस्था उत्पन्न भए नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, ट्राफिक प्रहरीको १०३, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको १२३४ र एम्बुलेन्स सेवाको १०२ नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।
अफवाह तथा अपुष्ट सूचनामा विश्वास नगरी जिल्ला प्रशासन कार्यालय मकवानपुर र सम्बन्धित सुरक्षा निकायबाट जारी आधिकारिक सूचना तथा निर्देशन मात्रै पालना गर्न प्रशासनले आग्रह गरेको छ।





