३ श्रावण २०८३, आईतवार

झापामा एक वर्षमा पाँच करोड नौ लाखका अवैध सामान बरामद

ड्रागन मिडिया समाचार कक्ष

जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा भन्सार छली गरी ओसारपसार गरिँदै गरेका पाँच करोड नौ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

कार्यालयको वार्षिक प्रगति विवरणअनुसार जिल्लाका विभिन्न सीमा नाकाबाट अवैध रूपमा ल्याइँदै गरेका रु पाँच करोड नौ लाख नौ हजार ३२१ बराबरका सामान नियन्त्रणमा लिएर सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रन्जन अवाका अनुसार बरामद सामानमध्ये सबैभन्दा बढी रु एक करोड ४९ लाख ६१ हजार ६५० बराबरका सवारीसाधनका पार्टपुर्जा छन्।

प्रहरीले रु एक करोड १४ लाख ७३ हजार ५६४ बराबरका अन्य विभिन्न सामान, रु ८९ लाख ८७ हजार ४० बराबरका बिडी, रु ६५ लाख १५ हजार ५७ बराबरका लत्ताकपडा र रु ५२ लाख २४ हजार ५०० बराबरका किराना सामान बरामद गरेको छ।

त्यसैगरी, रु २१ लाख ५७ हजार ९३० बराबरका विद्युतीय पार्टस्, रु १२ लाख ६५ हजार ५०० बराबरका सुर्तीजन्य पदार्थ र रु तीन लाख २४ हजार ८० बराबरका कस्मेटिक सामग्री नियन्त्रणमा लिइएको छ।

अवैध सामान ओसारपसारमा प्रयोग गरिएका २९ वटा सवारीसाधनसहित सात जनालाई नियन्त्रणमा लिएर थप कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button