फापरखेत पहिरो एक वर्षभित्र नियन्त्रण गर्ने मन्त्री पुनको प्रतिबद्धता

ड्रागन मिडिया समाचार कक्ष
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतमा दशकौँदेखि समस्या बनेको पहिरो एक वर्षभित्र नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्री बनेपछि पहिलोपटक शनिबार गृह जिल्ला म्याग्दी पुगेका पुनले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट नियन्त्रण कार्यका लागि चार करोड रुपैयाँ विनियोजन भएको जानकारी दिए।
“चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सङ्घबाट चार करोड रुपैयाँ विनियोजन भएको छ। एक वर्षभित्र समस्या समाधान हुनेमा विश्वस्त छु,” उनले भने।
वर्षायाममा पहिरो खसेर सडक पटक–पटक अवरुद्ध हुँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दाले सदरमुकाम बेनीसम्म आवतजावत गर्न सास्ती खेप्दै आएका छन्। पहिरो पूर्ण रूपमा नियन्त्रण नभएसम्म नियमित आवागमन कायम राख्न आवश्यक उपकरण तयारी अवस्थामा राख्न मन्त्री पुनले सम्बन्धित निकायलाई निर्देशन दिए।
बेनी नगरपालिका–४ स्थित फापरखेतको पहिरो करिब १५० मिटर क्षेत्रमा फैलिएको छ। सडकको माथिल्लो भिरबाट गेग्रान र ढुङ्गा खस्ने तथा तलबाट म्याग्दी नदीले कटान गर्ने जोखिमका कारण यो खण्ड वर्षायाममा अत्यन्त जोखिमपूर्ण बन्ने गरेको छ।
मन्त्री पुनले शनिबार नै निर्माणाधीन प्रदेश अस्पताल बेनीको भवन निरीक्षण गरी निर्माण प्रगति र अस्पतालको सेवा अवस्थाबारे जानकारी लिए। उनले भवन निर्माण छिटो सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए।
अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक र आवश्यक उपकरण अभाव रहेको जानकारी गराइएपछि उनले चिकित्सक तथा उपकरण व्यवस्थापनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए।
मन्त्री पुनले राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने बैसरी पहिरो नियन्त्रणका लागि भइरहेका प्रयासबारे पनि सम्बन्धित अधिकारीसँग जानकारी लिएका छन्।





