सांसद खुस्बु ओलीलाई धम्की दिएको आरोपमा दुई जना नियन्त्रणमा

ड्रागन मिडिया समाचार कक्ष
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिएको तथा मानहानि हुने प्रकृतिका सामग्री प्रकाशन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले भरतपुर महानगरपालिका–१६ घर भएका तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भई नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरेलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सांसद ओलीले काठमाडौँमा दिएको साइबर अपराधसम्बन्धी उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले पहिचान गरी पठाएका दुई व्यक्तिलाई चितवनमा नियन्त्रणमा लिइएको हो।
उनीहरूमाथि फेसबुकमार्फत धम्की दिएको तथा ओलीको प्रतिष्ठा र चरित्रमा आघात पुग्ने किसिमका सामग्री प्रकाशन गरेको आरोप छ। आरोपबारे थप प्रमाण सङ्कलन र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तेजेन्द्रप्रसाद पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध रहेको स्थानीय पार्टी श्रोतको भनाइ छ। यद्यपि, उनी पार्टीको कुनै औपचारिक सांगठनिक जिम्मेवारीमा रहे–नरहेको स्वतन्त्र रूपमा पुष्टि भएको छैन। प्रहरी प्रमुख पौडेलले पनि नियन्त्रणमा लिइएका दुईमध्ये एक जना रास्वपा कार्यकर्ता रहेको जानकारी प्राप्त भएको बताएका छन्।
आइतबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद लिन नसकिएको प्रहरीले जनाएको छ। सोमबार म्याद थप गरी विद्युतीय कारोबार तथा साइबर अपराधसम्बन्धी कानुनी प्रक्रियाअन्तर्गत चितवनबाटै अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ।
प्रहरीले आरोपित व्यक्तिहरूविरुद्धको कसुर प्रमाणित भइनसकेको र अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट मात्रै कानुनी जिम्मेवारी निर्धारण हुने जनाएको छ।





