३ श्रावण २०८३, आईतवार

सिचाङमा हिमालयपारि पर्यावरण र विकास सहकार्य विस्तारमा जोड

ड्रागन मिडिया समाचार कक्ष

चीनको सिचाङ स्वायत्त प्रदेशमा सम्पन्न पाँचौँ चीन–सिचाङ हिमालयपारि अन्तर्राष्ट्रिय सहयोग मञ्चका सहभागीहरूले हिमाली क्षेत्रको पर्यावरण संरक्षण, हरित विकास र अन्तरदेशीय व्यावहारिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

‘मानव र प्रकृतिबीच सामञ्जस्य प्रवर्द्धन, सहयोग र विकासका उपलब्धि साझा’ भन्ने मूल विषयसहित निङ्छी शहरमा बिहीबारदेखि शनिबारसम्म आयोजित मञ्चमा २९ देश तथा क्षेत्रका सरकारी अधिकारी, कूटनीतिज्ञ, विद्वान्, व्यवसायी र विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी थिए।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष वाङ क्वाङछ्यानले हिमालयपारिको क्षेत्र असङ्ख्य पर्वतहरूको शिखर र हजारौँ नदीहरूको उद्गमस्थल भएकाले यसको स्वच्छ पर्यावरण संरक्षण गर्नु क्षेत्रका सबै देशको साझा दायित्व भएको बताए।

सन् २०१८ मा पहिलो मञ्च आयोजना भएयता चीनले सहभागी पक्षसँग पर्यावरणीय शासन, हरित विकास, सांस्कृतिक आदानप्रदान र पारस्परिक सिकाइका क्षेत्रमा व्यापक सहकार्य गर्दै आएको उनले जानकारी दिए। यस वर्षको मञ्चमा पर्यावरण संरक्षण, पठारी क्षेत्रको संस्कृति तथा पर्यटन विकास, खेलकुद सहकार्य र स्वास्थ्यका विषयमा छलफल भएको थियो।

चिनियाँ कम्युनिस्ट पार्टीको सिचाङ स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ च्युनचङका अनुसार सिचाङको कुल भूभागमध्ये ५० प्रतिशतभन्दा बढी क्षेत्रलाई पर्यावरण संरक्षणसम्बन्धी ‘रेड लाइन’ भित्र समेटिएको छ। प्रदेशमा वन क्षेत्र र घाँसेमैदानको वनस्पति आवरण वर्षेनि विस्तार भइरहेको उल्लेख गर्दै उनले सिचाङ विश्वकै उत्कृष्ट पर्यावरणीय गुणस्तर भएका क्षेत्रमध्ये एक रहेको बताए।

उनले पर्यावरण संरक्षणका लागि अत्यन्त कडा प्रणाली र कानुनी व्यवस्था कार्यान्वयन गरिएको जानकारी दिए।

विश्व आर्थिक मञ्चकी प्रबन्ध निर्देशक जिम हुए नियोले भूराजनीतिक तनाव र विश्वव्यापी विभाजन बढिरहेको अवस्थामा पर्यटनले विभिन्न संस्कृति जोड्न, मानवीय सम्बन्ध सुदृढ बनाउन र साझा अनुभव सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

उनले छिङहाइ–सिचाङ पठारलाई विविधता स्वीकार गर्दै भावी पुस्ताका लागि साझा पर्यावरण संरक्षणमा सहकार्य गर्न सकिने महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरिन्।

चीनका लागि बङ्गलादेशका राजदूत मोहम्मद नजमुल इस्लामले मञ्च सीमा पारका देशले सामना गरिरहेका साझा चुनौतीसँग प्रत्यक्ष सम्बन्धित र समयसापेक्ष रहेको बताए।

नीति निर्माता, विद्वान्, व्यवसायी र विभिन्न क्षेत्रका प्रतिनिधिलाई एउटै मञ्चमा ल्याउँदा पारस्परिक समझदारी विस्तार हुनुका साथै साझा समस्याको समाधानका लागि नयाँ विचार र व्यावहारिक साझेदारी विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button