‘मिस्टर नो’ आन्द्रेई ग्रोमिको : २८ वर्ष सोभियत कूटनीतिको नेतृत्व

ड्रागन मिडिया समाचार कक्ष
सोभियत संघका प्रभावशाली कूटनीतिज्ञ तथा दीर्घकालीन विदेशमन्त्री आन्द्रेई ग्रोमिकोको जन्म १८ जुलाई १९०९ मा तत्कालीन बेलारुसी क्षेत्रमा भएको थियो। सन् १९५७ देखि १९८५ सम्म लगातार २८ वर्ष विदेशमन्त्री रहेका ग्रोमिकोले शीतयुद्धको अत्यन्त तनावपूर्ण अवधिमा सोभियत विदेश नीतिको नेतृत्व गरेका थिए।
अन्तर्राष्ट्रिय वार्तामा मस्कोको अडान दृढतापूर्वक प्रस्तुत गर्ने क्षमताका कारण पश्चिमी कूटनीतिक वृत्तले उनलाई ‘मिस्टर नो’ उपनाम दिएको थियो। ग्रोमिकोले भने पश्चिमी पक्षबाट आफूले सुनेको ‘नो’ को तुलनामा आफ्ना तर्फबाट ‘न्येत’ अर्थात ‘होइन’ निकै कम भनिएको टिप्पणी गरेका थिए।
उनी केवल सोभियत विदेश नीतिका कार्यान्वयनकर्ता मात्र थिएनन्। संयुक्त राष्ट्र संघको स्थापनाकालीन प्रक्रियामा सहभागी भएका ग्रोमिको संयुक्त राष्ट्र बडापत्रका मस्यौदाकारमध्ये एक थिए। संयुक्त राष्ट्र संघले उनलाई बीसौँ शताब्दीको अन्तर्राष्ट्रिय कूटनीतिका प्रमुख व्यक्तित्वमध्ये एकका रूपमा स्मरण गरेको छ।
नाटो र वार्सा सन्धि संगठनबीच वैचारिक तथा सामरिक तनाव चरम अवस्थामा रहेका बेला ग्रोमिकोले सोभियत संघ र पश्चिमबीच संवाद कायम राख्ने, युद्धको जोखिम घटाउने तथा रणनीतिक स्थिरता स्थापना गर्ने प्रक्रियामा भूमिका खेले।
उनको कार्यकालमा आंशिक परमाणु परीक्षण प्रतिबन्ध सन्धि सन् १९६३ मा, परमाणु हतियार अप्रसार सन्धि सन् १९६८ मा तथा एन्टी–ब्यालिस्टिक मिसाइल सन्धि र SALT–I सम्बन्धी अन्तरिम सम्झौता सन् १९७२ मा सम्पन्न भए। परमाणु युद्ध रोकथामसम्बन्धी अमेरिका–सोभियत सम्झौता सन् १९७३ र SALT–II सन् १९७९ मा हस्ताक्षर गरिएको थियो। यी सम्झौताले परमाणु हतियार प्रतिस्पर्धालाई नियन्त्रण गर्ने र दुई महाशक्तिबीच तनाव घटाउने आधार निर्माण गरे।
सन् १९६२ को क्युबा क्षेप्यास्त्र सङ्कटका समयमा ग्रोमिको सोभियत पक्षका प्रमुख कूटनीतिक प्रतिनिधिमध्ये एक थिए। सोभियत संघ र अमेरिकाबीच प्रत्यक्ष सैन्य टकरावको खतरा उत्पन्न भएको उक्त सङ्कट अन्ततः वार्ता र आपसी समझदारीबाट समाधान हुँदा विश्व सम्भावित परमाणु युद्धबाट जोगिएको थियो।
ग्रोमिकोले सन् १९६६ मा भारत र पाकिस्तानबीच सोभियत मध्यस्थतामा सम्पन्न तास्कन्द वार्तामा पनि भूमिका खेले। त्यसैगरी, सन् १९७३ को अरब–इजरायल युद्धपछि जेनेभामा आयोजित शान्ति वार्तामा उनी सोभियत प्रतिनिधिका रूपमा सहभागी भएका थिए।
उनले युद्धोत्तर युरोपका सीमा र राजनीतिक यथार्थलाई संस्थागत गर्ने, अमेरिका तथा पश्चिमी देशसँग सम्बन्ध सामान्यीकरण गर्ने र तनाव शिथिलीकरणको नीति अघि बढाउने प्रयास गरे। यद्यपि उनी कठोर वार्ताकारका रूपमा परिचित थिए, उनको कूटनीतिक दृष्टिकोणमा दीर्घ वार्तालाई सैन्य द्वन्द्वभन्दा प्राथमिकता दिने मान्यता स्पष्ट देखिन्थ्यो।
रुसी विदेश मन्त्रालयले ग्रोमिकोको नामलाई सोभियत संघको युद्धोत्तर विदेश नीतिका प्रमुख उपलब्धि, राष्ट्रिय हितको दृढ रक्षा र रणनीतिक धैर्यको प्रतीकका रूपमा स्मरण गरेको छ। उनको कूटनीतिक विरासत आज पनि रुसी विदेश सेवाको संस्थागत परम्परा र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको छ।





