२० भाद्र २०८३, शनिबार

कोलकाता–विराटनगर कार्गो रेल सेवा सुरु, पहिलो खेपमा ४० कन्टेनर

ड्रागन मिडिया समाचार कक्ष

भारतको कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकमा उत्पादित मालसामान बोकेर विराटनगरसम्म आउने प्रत्यक्ष कार्गो रेल सेवा औपचारिक रूपमा सुरु भएको छ। पहिलो रेलले स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको तेलहन कच्चा पदार्थसहित ४० वटा ४० फिटका कन्टेनर ल्याइरहेको छ।

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत शुक्रबार कोलकाताबाट हिँडेको रेल जोगबनी हुँदै विराटनगर भन्सार यार्ड आइपुग्नेछ। विराटनगर भन्सार कार्यालयका अनुसार रेल आइतबार वा सोमबारसम्म आइपुग्ने अपेक्षा गरिएको छ।

कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता बन्दरगाह र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरेका थिए। पहिलो खेपका सबै कन्टेनरमा ढुवानीको सुरक्षा र निगरानीका लागि इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम जडान गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोलकाताबाट सिधै विराटनगरसम्म कार्गो रेल सञ्चालन हुनु पूर्वी नेपालका उद्योगीका लागि स्वागतयोग्य र लामो प्रयासपछि प्राप्त उपलब्धि भएको बताए।

उनले एकीकृत जाँच चौकीमा कन्टेनर राख्ने खुला यार्ड, सुरक्षित गोदाम, शीघ्र अनलोडिङ र उद्योगसम्म मालसामान पुर्‍याउने सहज व्यवस्था आवश्यक रहेको बताए। समयमै कन्टेनर खाली गरेर फिर्ता गर्न नसके सिपिङ लाइनको अतिरिक्त तथा विलम्ब शुल्क उद्योगीले तिर्नुपर्ने भएकाले नियमित रेल सेवा र प्रभावकारी भन्सार व्यवस्थापन अनिवार्य रहेको उनको भनाइ छ।

राउतले आयातित सामान बोकेर आएका कन्टेनर खाली फर्काउनुभन्दा पूर्वी नेपालबाट तेस्रो मुलुकमा निर्यात गर्न सकिने वस्तुको उत्पादन र उद्योग स्थापना गर्नुपर्ने बताए। यसले रेलको दुवैतर्फी व्यावसायिक प्रयोग सुनिश्चित गर्नुका साथै कोशी प्रदेशको औद्योगिक तथा आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने उनले उल्लेख गरे।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले यसअघि कोइला, रासायनिक मल, क्लिन्करलगायत सीमित वस्तु मात्रै रेलमार्फत ल्याउन सकिने व्यवस्था रहेकामा नीतिगत संशोधनपछि तेस्रो मुलुकबाट आयात हुने अन्य औद्योगिक कच्चा पदार्थ पनि विराटनगरसम्म ल्याउन सकिने भएको बताए।

भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले नोभेम्बर ४, २०२५ मा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङसम्बन्धी नियम संशोधन गरेपछि कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट विराटनगरसम्म रेलमार्फत मालसामान ढुवानी गर्ने बाटो खुलेको थियो। कोलकाता भन्सारले फेब्रुअरी २६, २०२६ मा त्यससम्बन्धी प्रक्रियागत व्यवस्था कार्यान्वयनमा ल्याएको थियो।

राठीका अनुसार सडक मार्गबाट मालसामान ल्याउँदा हुने चोरी, दोहोरो लोड–अनलोड, महँगो ढुवानी र विलम्ब शुल्कको जोखिम कार्गो रेलले घटाउनेछ। यद्यपि, विराटनगरमा कन्टेनर अनलोडिङ र ह्यान्डलिङबापत लाग्ने शुल्क कति हुने तथा त्यसको भार कसले व्यहोर्ने भन्ने विषय अझै स्पष्ट हुन बाँकी छ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार रेलले सामान्य अवस्थामा करिब २४ घण्टामा कोलकाताबाट विराटनगरसम्म मालसामान पुर्‍याउन सक्छ। पूर्ण क्षमतामा एकपटकमा ४५ वटासम्म ४० फिटका कन्टेनर तथा बल्क कार्गो ढुवानी गर्न सकिनेछ।

भारतको बथनाहादेखि विराटनगर भन्सार यार्डसम्मको कार्गो रेल सेवा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन १, २०२३ मा संयुक्त रूपमा उद्घाटन गरेका थिए। त्यसपछि एउटा कार्गो रेल आए पनि सेवा नियमित हुन सकेको थिएन। कोलकाताबाट तेस्रो मुलुकको कन्टेनर सिधै विराटनगर ल्याउने पछिल्लो व्यवस्थाले उक्त पूर्वाधारलाई नियमित व्यावसायिक प्रयोगमा ल्याउने बाटो खोलेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button