टेकुमा चल्यो प्रहरीको गोली, भारतीय नागरिक घाइते; तीन जना पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
काठमाडौंको टेकुमा प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्।
काठमाडौं महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिक लागु औषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो। लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा घटनास्थल पुगेको टोलीमाथि आक्रमणको प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाइएको ब्यूरोका एक अधिकारीले जानकारी दिए।
गोली लागेर घाइते भएका भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेको उपचार भइरहेको छ।
घटनास्थलबाट लागु औषध वा अन्य सामग्री बरामद भए–नभएकोबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।





