सडक र सदन दुवै मोर्चा प्रभावकारी बनाउन ओलीको निर्देशन

ड्रागन मिडिया समाचार कक्ष
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सडक सङ्घर्ष र संसदीय सङ्घर्ष दुवै मोर्चालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित सांसद प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले पछिल्ला राजनीतिक घटनाक्रमपछि पार्टीका नेता–कार्यकर्ताको मनोबलमा असर परेको स्वीकार गर्दै पुनः सङ्गठित भएर अघि बढ्नुपर्नेमा जोड दिए।
“सडक सङ्घर्षको मोर्चातिर पनि मनोबल अलि खस्किएको अवस्था छ। हामीले धक्का खाएका छौँ। धक्का खाएको अवस्थामा कसैको मनोबल एकदम बुलन्द भएर बढेको हुँदैन,” उनले भने, “धक्का परेपछि अलिकति चोट त लाग्ने नै भयो। धक्काबाट उठेर अघि बढ्नुपर्छ।”
ओलीले सडक सङ्घर्ष र संसदीय सङ्घर्ष एकअर्काका पूरक भएकाले पार्टीले दुवै क्षेत्रमा योजनाबद्ध र सशक्त उपस्थिति जनाउनुपर्ने बताए।
वर्तमान राजनीति परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन बनेको टिप्पणी गर्दै उनले लोकतान्त्रिक शासन व्यवस्थामा सरकार परिवर्तनका संवैधानिक, कानुनी र संसदीय प्रक्रिया रहेको उल्लेख गरे।
“लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी र संसदीय बाटाहरू हुन्छन्,” ओलीले भने, “हिंसा, आगजनी, तोडफोड, जबरजस्ती, कब्जा र असंवैधानिक गतिविधि लोकतान्त्रिक बाटा होइनन्। राज्य पूर्ण रूपमा अनुपस्थित भएको र अराजकता देखापरेको अवस्था छ।”
उनले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै त्यसले स्वस्थ सार्वजनिक बहसभन्दा भ्रम, असत्य सूचना र सामाजिक विकृति फैलाउन थालेको आरोप लगाए।
“सामाजिक सञ्जालबाट स्वस्थ बहस हुन सक्छ,” उनले भने, “तर कोही उत्तरदायी हुनु नपर्ने, दर्ता गर्न नपर्ने, प्रतिनिधि तोक्नु नपर्ने र निराधार तथा असत्य कुरा प्रचार गरिरहने प्रवृत्तिले समाजमा भयानक विकृति पैदा गरिरहेको छ।”
ओलीले डिजिटल माध्यममा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै त्यसको सञ्चालनमा उत्तरदायित्व र जवाफदेहिता पनि आवश्यक रहेको बताए।





