४ श्रावण २०८३, सोमबार

जापानबाट शाहीको विवादित अभिव्यक्ति, रास्वपाले माग्यो सार्वजनिक माफी

ड्रागन मिडिया समाचार कक्ष

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जापानबाट फेसबुक लाइभमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा समर्थकप्रति दिएको अभिव्यक्ति विवादमा परेको छ।

केही दिनदेखि जापानमा रहेका शाहीले आफूविरुद्ध सामाजिक सञ्जालमा भ्रामक प्रचार र व्यक्तिगत चरित्रहत्या गरिएको दाबी गर्दै आक्रोशपूर्ण प्रतिक्रिया दिएका थिए। उनले आफूसँग एक महिला समर्थकले खिचाएको पुरानो तस्बिरलाई गलत परिचयसहित प्रचार गरिएको आरोप लगाए।

शाहीलाई जापानको ओशाकामा प्रवासी नेपालीले लखेटेको भन्ने दाबी पनि सामाजिक सञ्जालमा फैलिएको थियो। उक्त दाबीको स्वतन्त्र पुष्टि भएको छैन। शाहीले आफू ओशाका नपुगेको र जापानमा सुरक्षित रहेको बताएका छन्।

जापानमा आयोजित एक कार्यक्रममा रास्वपा सांसद खगेन्द्र सुनारसँगै अतिथि बनेका शाहीले गृहमन्त्रीसँग प्रश्न गर्दा आफूले प्रत्यक्ष र कडा रूपमा कुरा गर्ने बताएका थिए। त्यसपछि रास्वपा समर्थकसँग उनको सामाजिक सञ्जाल विवाद थप चर्किएको बताइएको छ।

फेसबुक लाइभमा शाहीले संसदमा आफूले उठाएका प्रश्नको जवाफ दिन सरकार र रास्वपा नेतृत्वलाई चुनौती दिए। तर त्यस क्रममा उनले राजनीतिक असहमति व्यक्त गर्न अपमानजनक, व्यक्तिगत र असंयमित भाषा प्रयोग गरेका थिए। उनले पछि आफ्नो भाषाशैली तलमाथि भएको हुन सक्ने स्वीकार गर्दै आफूविरुद्धको प्रचारका कारण आक्रोशित भएको बताए। शाहीले उक्त लाइभ भिडिओ फेसबुकबाट हटाइसकेका छन्।

शाहीको अभिव्यक्तिप्रति रास्वपा सांसद राजु पाण्डेले असन्तुष्टि जनाउँदै सार्वजनिक पद र त्यसको मर्यादा ख्याल गर्न आग्रह गरेका छन्। उनले राजनीतिक विचार राख्ने अधिकार सबैलाई भए पनि लोकतान्त्रिक व्यवस्था, शान्ति र जनताको निर्णयको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी भएको बताएका छन्। पाण्डे रास्वपाबाट काठमाडौं–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग, जापानले पनि विज्ञप्ति जारी गर्दै शाहीको अभिव्यक्तिलाई अपमानजनक र असंयमित भनेको छ। विभागले जिम्मेवार जनप्रतिनिधिको अभिव्यक्ति लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाअनुकूल हुनुपर्ने भन्दै शाहीलाई आत्मसमीक्षा गरी सार्वजनिक क्षमायाचना गर्न आग्रह गरेको छ।

विभागले उचित सम्बोधन र क्षमायाचना नभए संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चाल्ने चेतावनी दिँदै आफ्ना समर्थकलाई पनि सभ्य, संयमित र तथ्यमा आधारित प्रतिक्रिया दिन अनुरोध गरेको छ।

राप्रपाले भने शाही र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीमाथि योजनाबद्ध साइबर दुर्व्यवहार भइरहेको दाबी गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिपक्षी सांसदको मानमर्दन र उनीहरूलाई निरुत्साहित गर्ने प्रयास भएको भन्दै त्यसलाई निन्दनीय बताएका छन्।

यो विवादले राजनीतिक असहमति व्यक्तिगत आक्रमण, अपुष्ट प्रचार र अमर्यादित प्रतिक्रियामा परिणत हुँदै गएको देखाएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिले संयमित भाषा प्रयोग गर्नुपर्ने भएजस्तै समर्थक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि प्रमाणबिनाका आरोप र चरित्रहत्या रोक्नुपर्ने आवश्यकता घटनाले उजागर गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button