अमेरिका–इरान र इरान–अरब मतभेद समाधानमा सहयोग गर्न रुस तयार

ड्रागन मिडिया समाचार कक्ष
रुसले अमेरिका र इरानबीच तथा इरान र अरब राष्ट्रहरूबीचका मतभेद शान्तिपूर्ण रूपमा समाधान गर्न सहयोग गर्न तयार रहेको जनाएको छ।
रुसी उपविदेशमन्त्री अलेक्जान्दर आलिमोभले रुसी सञ्चारमाध्यम ‘इज्भेस्तिया’सँगको कुराकानीमा मस्कोले सम्बन्धित पक्षहरूबीच संवाद र कूटनीतिक समाधान प्रवर्द्धन गर्न भूमिका खेल्न सक्ने बताएका हुन्।
“हामी अमेरिका र इरानबीचका साथै इरानी र अरब पक्षबीचका मतभेदको शान्तिपूर्ण समाधानमा सहयोग गर्न तयार छौँ,” आलिमोभले भने।
उनले रुस अरब–इरान संवादका लागि वार्तास्थल उपलब्ध गराउनसमेत तयार रहेको तर कुनै पनि पक्षमाथि आफ्नो मध्यस्थता नथोपर्ने स्पष्ट पारे।
आलिमोभका अनुसार रुसले विवादसँग सरोकार राख्ने सबै पक्षसँग निकट सम्पर्क कायम गरिरहेको छ। यसक्रममा मस्कोले पाकिस्तानको इस्लामाबाद, साउदी अरबको रियाद र टर्कीको अंकारासँग पनि समन्वय गरिरहेको उनले जानकारी दिए।
रुसले यसअघि पनि फारसको खाडी क्षेत्रमा थप तनाव रोक्न, युद्धविराम कायम गर्न र राजनीतिक तथा कूटनीतिक समाधान अघि बढाउन आग्रह गर्दै आएको छ। मस्कोले अरब राष्ट्रहरूको सार्वभौमिकता र सुरक्षा चासोलाई इरानसमक्ष राख्ने तथा नागरिक र नागरिक संरचनामाथिका आक्रमण रोक्नुपर्नेमा जोड दिएको थियो।
रुसी विदेश मन्त्रालयले इरान र उसका अरब छिमेकीबीच विभाजन सिर्जना गर्ने प्रयास भइरहेको दाबी गर्दै क्षेत्रीय युद्धका कारण सर्वसाधारण र नागरिक संरचना प्रभावित भएकोप्रति चिन्ता व्यक्त गरेको थियो।
आलिमोभको पछिल्लो अभिव्यक्तिले मस्कोले अमेरिका–इरान तनाव समाधानसँगै इरान र अरब राष्ट्रहरूबीच विश्वास पुनःस्थापित गर्ने समानान्तर कूटनीतिक प्रयासमा भूमिका खोजिरहेको देखाएको छ।





