डोटीका पहिलो पत्रकार धनबहादुर मल्लको निधन

ड्रागन मिडिया समाचार कक्ष
डोटीका पहिलो पत्रकार, वरिष्ठ साहित्यकार, मूर्तिकार तथा पूर्वशिक्षक धनबहादुर मल्लको सोमबार बिहान निधन भएको छ। उनी ८८ वर्षका थिए।
दिपायल सिलगढी नगरपालिका–६, सिलगढीस्थित आफ्नै निवासमा सोमबार बिहान करिब ५ः३० बजे उनको निधन भएको हो। उनका जेठा छोरा योगेश मल्लका अनुसार आइतबारसम्म उनी सामान्य अवस्थामा थिए। कुनै गम्भीर स्वास्थ्य समस्या नदेखिएको अवस्थामा सोमबार बिहान उनको एक्कासि निधन भएको हो।
वि.सं. १९९४ भदौ ५ गते बुबा मानबहादुर मल्ल र आमा मानकुमारी मल्लको कोखबाट जन्मिएका मल्ललाई डोटेली पत्रकारिताको पहिलो पुस्ताका अग्रदूत मानिन्छ। उनले वि.सं. २०१६ सालमा सगरमाथा संवाद समितिका लागि डोटी समाचारदाताका रूपमा पत्रकारिता शुरु गरेका थिए। वि.सं. २०१८ सालमा राष्ट्रिय समाचार समिति स्थापना भएपछि उनी राससको डोटी समाचारदाताका रूपमा कार्यरत रहे।
पत्रकारितासँगै साहित्य, नाटक, गीतसङ्गीत र ललितकलामा पनि उनको उल्लेखनीय योगदान थियो। उनले ‘जय दुर्गे’, ‘ध्रुव’, ‘सत्यमेव जयते’, ‘शैलेश्वरी महात्म्य’, ‘भरत मिलाप’, ‘अदृश्य हात’, ‘भविष्य बोल्छ वर्तमान’, ‘आमाको मन’, ‘भलाइ’, ‘आमा’, ‘मिलाप’, ‘परिवार’, ‘जागरण’, ‘दायित्व’, ‘जाँगर’, ‘बिलौना’, ‘नारी जागरण’, ‘परिवर्तन’, ‘गाउँबेंसी’ र ‘सौतेली आमा’ लगायत दर्जनौँ नाटक लेखन तथा निर्देशन गरेका थिए। गीत लेखन, सङ्गीत र गायनमा पनि उनी सक्रिय थिए।
शैलेश्वरी मन्दिर परिसरमा रहेका अधिकांश मूर्ति तथा कलाकृति मल्लकै सिर्जना हुन्। उनले मन्दिर परिसरमा मूर्ति निर्माण, चित्रकला, सरसफाइ र संरक्षणका काममा समेत लामो समय योगदान दिएका थिए।
उनी वि.सं. २००४ सालमा स्थापना भएको डोटीको पुरानो शैक्षिक संस्था पद्म पब्लिक माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत थिए। नाटक प्रदर्शनबाट सङ्कलित रकमबाट विद्यालयका लागि बेन्च तथा डोटी क्याम्पसका लागि फर्निचर उपलब्ध गराउन पनि उनले योगदान दिएका थिए।
पत्रकारिता, साहित्य, कला, सङ्गीत र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप मल्लले सर्वनाम पुरस्कार २०५०, राष्ट्रिय प्रतिभा पुरस्कार २०५३, रासस प्रशंसापत्र २०६०, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्मान २०६७, रासस सम्मान २०६८, सुदूरपश्चिम साहित्य समाज प्रतिभाश्री सम्मान २०६९, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कदरपत्र २०७०, नेपाल लोकवार्ता तेस्रो राष्ट्रिय सङ्गोष्ठी अभिनन्दन २०७० तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अभिनन्दन २०७३ सहित दर्जनौँ पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए।
मल्लको निधनसँगै डोटीले पत्रकारिता, साहित्य, सङ्गीत, मूर्तिकला र शिक्षाका एक बहुआयामिक साधक गुमाएको छ। उनका सिर्जना र योगदान डोटेली कला, संस्कृति तथा पत्रकारिताको इतिहासमा स्मरणीय रहनेछन्।





