झापामा वित्तीय अपराधका ३७३ मुद्दा, ३१० अभियुक्त फरार

ड्रागन मिडिया समाचार कक्ष
डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बने पनि झापामा बैंकिङ कसुर, ठगी र अनलाइन सट्टेबाजीलगायत वित्तीय अपराधका घटना बढेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन बेटिङ तथा आपराधिक लाभसम्बन्धी कुल ३७३ मुद्दा दर्ता भएका छन्।
तीमध्ये २७० मुद्दा फर्छ्योट भएका छन् भने १०३ मुद्दा अनुसन्धानका क्रममा छन्। यी घटनामा संलग्न १५५ जनालाई पक्राउ गरिएको छ भने ३१० अभियुक्त अझै फरार छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले प्रविधिको दुरुपयोग, अपरिचित व्यक्तिमाथि सहजै विश्वास गर्ने प्रवृत्ति र आर्थिक कारोबारमा पर्याप्त सावधानी नअपनाउँदा वित्तीय अपराध बढिरहेको बताए।
“प्रविधिको दुरुपयोग, अपरिचित व्यक्तिलाई सहजै विश्वास गर्ने प्रवृत्ति र आर्थिक कारोबारमा पर्याप्त सावधानी नअपनाउँदा वित्तीय अपराधका घटना बढिरहेका छन्,” उनले भने, “फरार अभियुक्तहरूको खोजी पनि तीव्र बनाइएको छ।”
प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै बैंकिङ कसुरका २९४ मुद्दा दर्ता भएका छन्। तीमध्ये २२० मुद्दा फर्छ्योट भएका छन् भने ७४ मुद्दा अनुसन्धानकै क्रममा छन्।
ठगीका ६५ मुद्दामध्ये ४० वटा फर्छ्योट भएका छन् भने २५ वटा बाँकी छन्। आपराधिक लाभसम्बन्धी १२ मुद्दामध्ये आठवटा फर्छ्योट भएका छन् र चारवटा अनुसन्धानका क्रममा छन्। अनलाइन बेटिङसम्बन्धी दर्ता भएका दुईवटै मुद्दा फर्छ्योट भएका छन्।
पछिल्लो समय बैंक खाता, ओटीपी, पासवर्ड र अन्य व्यक्तिगत विवरण दुरुपयोग गरी ठगी गर्ने घटना बढेको प्रहरीले जनाएको छ। अनलाइन किनमेल, चिठ्ठा परेको सूचना तथा घरबाटै काम गरेर ठूलो आम्दानी गर्न सकिने प्रलोभन देखाएर रकम असुल्ने प्रवृत्ति पनि बढ्दै गएको छ।
प्रहरीले अनलाइन भुक्तानी तथा डिजिटल कारोबार गर्दा व्यक्तिगत विवरण गोप्य राख्न, अपरिचित लिङ्क वा सन्देशमा विश्वास नगर्न र छोटो समयमा धेरै आम्दानी हुने प्रलोभनबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।





