२० भाद्र २०८३, शनिबार

बालेन सरकारमा मन्त्री हेरफेरको गृहकार्य

ड्रागन मिडिया समाचार कक्ष

गत चैत १३ गते गठित प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिमण्डल पुनर्गठनका लागि राजनीतिक तथा आन्तरिक गृहकार्य अघि बढाइएको छ।

उच्च राजनीतिक श्रोतका अनुसार सरकारको कामकारबाहीप्रति बढ्दो सार्वजनिक असन्तोषलाई आधार बनाउँदै प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमक्ष केही मन्त्री हेरफेर गर्नुपर्ने अडान राखेपछि पुनर्गठनको प्रक्रिया अघि बढेको हो।

“अर्को हप्तासम्म मन्त्रिमण्डल हेरफेर हुने सम्भावना उच्च छ,” श्रोतले भन्यो, “फेरिन सक्ने मन्त्री र मन्त्रालयबारे एक चरणको छलफल भइसकेको छ। तर अन्तिम विवरण बाहिर आएको छैन।”

सम्भावित पुनर्गठनको चर्चा मन्त्रीपरिषदभित्र मात्र नभई प्रशासनिक तहसम्म पुगेको छ। सोमबार बिहान कार्यालय खुलेपछि केही मन्त्रालयमा सचिव, सहसचिव, मन्त्रीका निजी सचिव र सचिवालयका कर्मचारीबीच फेरिन सक्ने मन्त्री तथा मन्त्रालयबारे अनौपचारिक छलफल चलेको थियो।

अघिल्लो साता प्रधानमन्त्री शाहले बूढानीलकण्ठस्थित सभापति लामिछानेको निवासमा पुगेर सरकारका केही मन्त्री र रास्वपाका सांसदहरूको भूमिकाबारे छलफल गरेको श्रोतको दावी छ। सोही भेटमा लामिछानेले प्रधानमन्त्रीको सचिवालयको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको बताइएको छ।

विशेषगरी अर्थमन्त्री तथा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री कार्यालयमा भएका अर्थसम्बन्धी केही उच्चस्तरीय भेटघाटमा सहभागी नगराइएको विषयले पार्टी र सरकारभित्र विभिन्न टिप्पणी उत्पन्न गरेको छ। विभागीय मन्त्रीको सहभागिता अपेक्षित रहेका भेटघाटमा समेत वाग्ले अनुपस्थित रहेपछि प्रधानमन्त्री र अर्थमन्त्रीबीचको सम्बन्धबारे प्रश्न उठेका हुन्।

यसैबीच, सभापति लामिछाने र अर्थमन्त्री वाग्ले साउन २ गते शनिबारदेखि भोलिपल्ट मध्याह्नसम्म धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा बसेर छलफल गरेका थिए। उनीहरूको आवासीय छलफललाई मन्त्रिमण्डल पुनर्गठन, सरकारको कार्यसम्पादन र पार्टीभित्र विकसित पछिल्लो असन्तुष्टिका सन्दर्भमा अर्थपूर्ण मानिएको छ।

प्रधानमन्त्री र सरकारको कार्यशैलीलाई लिएर विपक्षीसँगै सत्तारूढ रास्वपाकै केही सांसदले सार्वजनिक रूपमा प्रश्न उठाइरहेका बेला प्रतिनिधिसभाले १५ दिनको विश्राम लिएको छ। असार ३१ गते स्थगित बैठक अब साउन १४ गते बिहान ११ बजे बस्नेछ।

यद्यपि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र रास्वपाले मन्त्रिमण्डल पुनर्गठनबारे औपचारिक जानकारी दिएका छैनन्। फेरिने मन्त्री, मन्त्रालयको जिम्मेवारी र पुनर्गठनको निश्चित मितिबारे पनि अन्तिम निर्णय सार्वजनिक भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button