२० भाद्र २०८३, शनिबार

‘चलो संसद’ मार्चमा प्रहरी हस्तक्षेप, दिल्लीमा सुरक्षा कडा

ड्रागन मिडिया समाचार कक्ष

भारतको नयाँ दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको ‘चलो संसद’ मार्च संसद भवन नजिक पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

सोमबार जन्तर–मन्तरबाट शुरु भएको मार्च संसद भवनतर्फ अघि बढ्दा सुरक्षाकर्मीले ब्यारिकेड लगाएर रोकेका थिए। प्रदर्शनकारीले ब्यारिकेड पार गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो।

दिल्ली प्रहरीले संसद भवनतर्फ मार्च गर्न पूर्वअनुमति नलिइएको जनाएको छ। प्रदर्शनकारीलाई निषेधित क्षेत्रमा प्रवेश गर्नबाट रोक्न संसद भवन, जन्तर–मन्तर र आसपासका संवेदनशील क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

प्रहरी र प्रदर्शनकारीबीच भएको तनावका क्रममा केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ। सीजेपीले शिक्षा प्रणालीमा देखिएका अनियमितता, परीक्षाका प्रश्नपत्र चुहावट, बेरोजगारी र सरकारी जवाफदेहितालाई प्रमुख मुद्दा बनाउँदै प्रदर्शन गरेको हो।

भारतको संसदको मनसुन अधिवेशन शुरु भएकै दिन संसदबाहिर मार्च भएको थियो। सदनभित्र सरकार र विपक्षी सांसदबीच विवाद तथा अवरोध भएपछि लोकसभा र राज्यसभा पटकपटक स्थगित हुँदै अन्ततः दिनभरका लागि स्थगित गरिएका थिए।

सीजेपीले प्रारम्भमा आफ्ना संस्थापक अभिजीत दिप्केलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेको थियो। तर संगठनले पछि उक्त विवरण सच्याउँदै दिप्के पक्राउ वा हिरासतमा नरहेको स्पष्ट पारेको छ।

प्रदर्शनपछि संसद भवन र मध्यदिल्लीका प्रमुख सरकारी क्षेत्र आसपास सुरक्षा सतर्कता कायम राखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button