२० भाद्र २०८३, शनिबार

नेपाल–रुस कूटनीतिक सम्बन्धको ७० वर्ष, सहकार्य विस्तारमा जोड

ड्रागन मिडिया समाचार कक्ष

नेपाल र रुसी महासंघले कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ मनाएका छन्। सात दशक लामो सम्बन्धलाई दुवै देशले मैत्री, पारस्परिक सम्मान र प्रमुख अन्तर्राष्ट्रिय विषयमा निकट दृष्टिकोणमा आधारित साझेदारीका रूपमा स्मरण गरेका छन्।

नेपाल र तत्कालीन सोभियत संघबीच २० जुलाई १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसको तीन वर्षपछि अक्टोबर १९५९ मा काठमाडौंमा सोभियत कूटनीतिक नियोग खोलिएको थियो भने जुलाई १९६१ मा मस्कोस्थित नेपाली दूतावासले काम शुरु गरेको थियो।

सोभियत संघ विघटन भएपछि नेपालले सन १९९१ मा रुसी महासंघलाई सोभियत संघको उत्तराधिकारी राष्ट्रका रूपमा मान्यता दिएको थियो। त्यसयता दुई देशबीचको सम्बन्ध निरन्तरता, मित्रता र पारस्परिक सहयोगका आधारमा अघि बढ्दै आएको छ।

७०औँ वर्षगाँठका अवसरमा जारी सन्देशमा रुसी पक्षले नेपालसँगको सम्बन्धमा इतिहासदेखि कुनै गम्भीर वा संरचनागत समस्या नरहेको उल्लेख गरेको छ। दुवै देशका दृष्टिकोण अन्तर्राष्ट्रिय कार्यसूचीका प्रमुख विषयमा निकट वा समान रहेको जनाउँदै सहकार्यका महत्त्वपूर्ण क्षेत्रलाई थप विस्तार र गहिरो बनाउन सकिने विश्वास व्यक्त गरिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि नेपालसँगको सम्बन्धबारे सकारात्मक धारणा व्यक्त गर्दै दुई देशबीच कहिल्यै उल्लेखनीय समस्या नरहेको बताएका छन्। उनले अन्तर्राष्ट्रिय कार्यसूचीका प्रमुख विषयमा नेपाल र रुसका धारणा अत्यन्त निकट वा समान रहेको उल्लेख गर्दै महत्त्वपूर्ण क्षेत्रमा द्विपक्षीय अन्तरक्रिया विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

रुसी दूतावासले कूटनीतिक सम्बन्धको वर्षगाँठलाई दुवै देशको साझा उत्सवका रूपमा उल्लेख गर्दै नेपालका मित्रहरू तथा नेपालमा रहेका रुसी नागरिकलाई शुभकामना दिएको छ।

नेपाल–रुस सम्बन्ध शिक्षा, विज्ञान, प्रविधि, पूर्वाधार, स्वास्थ्य, संस्कृति, स्वास्थ्य, संस्कृति र जनस्तरीय सम्पर्कको लामो इतिहासमा आधारित छ। विशेषगरी सोभियतकालमा नेपालका विभिन्न विकास आयोजना र प्राविधिक जनशक्ति निर्माणमा भएको सहयोगलाई दुई देशबीचको मित्रताको महत्त्वपूर्ण आधारका रूपमा लिइन्छ।

सात दशक पूरा भएको अवसरलाई विगतका उपलब्धिको स्मरणसँगै व्यापार, लगानी, ऊर्जा, कृषि, पर्यटन, प्रविधि, शिक्षा र सांस्कृतिक आदानप्रदानमा नयाँ सहकार्य अघि बढाउने अवसरकारूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button