एक वर्षमा ३,२११ मेगावाटका ९९ जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति

ड्रागन मिडिया समाचार कक्ष
विद्युत विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा कुल तीन हजार २११ मेगावाट क्षमताका ९९ जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ।
यस अवधिमा कुल ३११ मेगावाट क्षमताका सात सौर्य ऊर्जा आयोजनाले पनि सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेका छन्।
प्रसारण लाइनतर्फ २२० केभी क्षमताका १७९ सर्किट किलोमिटर, १३२ केभी क्षमताका २७० सर्किट किलोमिटर र ३३ केभी क्षमताका १३२ सर्किट किलोमिटर बराबरका आयोजनालाई सर्वेक्षण अनुमतिपत्र प्रदान गरिएको विभागले जनाएको छ।
विभागले आर्थिक वर्ष २०८२/८३ मा कुल एक हजार ८५७ मेगावाट क्षमताका २९ जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिएको छ। सौर्य ऊर्जातर्फ कुल ३१ मेगावाट क्षमताका तीन आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरेका छन्।
विभागले वार्षिक रूपमा करिब तीन अर्ब ५० करोड रुपैयाँ रोयल्टी सङ्कलन गर्दै आएको छ। सङ्कलित रोयल्टी प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने गरेको छ। यसले प्रदेश तथा स्थानीय तहको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको विभागले जनाएको छ।
विभागले हालसम्म जलविद्युततर्फ कुल १२ हजार ३३६ मेगावाट क्षमताका २६४ आयोजनालाई उत्पादन अनुमतिपत्र जारी गरेको छ। सौर्य ऊर्जातर्फ कुल ७४ दशमलव छ मेगावाट क्षमताका १० आयोजनाले उत्पादन अनुमति पाएका छन्।
प्रसारण लाइन निर्माणतर्फ ४०० केभी क्षमताका एक हजार ९७ सर्किट किलोमिटर, २२० केभी क्षमताका ६५६ सर्किट किलोमिटर, १३२ केभी क्षमताका एक हजार ६०८ सर्किट किलोमिटर र ३३ केभी क्षमताका ३३७ सर्किट किलोमिटर बराबरका आयोजनालाई अनुमति दिइएको विभागका महानिर्देशक मनदेवी श्रेष्ठले जानकारी दिइन्।





