सामाजिक सुरक्षा कोषमा १ खर्ब १६ अर्बभन्दा बढी योगदान

ड्रागन मिडिया समाचार कक्ष
सामाजिक सुरक्षा कोषमा आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ योगदान रकम जम्मा भएको छ।
कोषमा सूचीकृत रोजगारदाता र योगदानकर्ताबाट उक्त रकम जम्मा भएको हो। हालसम्म सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० र योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार २०० पुगेको कोषले जनाएको छ।
कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ रुपैयाँ दाबी भुक्तानी गरेको छ।
औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२ रुपैयाँ भुक्तानी गरिएको छ। दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ३० करोड ४६ लाख छ हजार ५१४ रुपैयाँ र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ३८ करोड चार लाख २५ हजार २१६ रुपैयाँ उपलब्ध गराइएको छ।
अवकाश दाबीतर्फ सबैभन्दा बढी १७ अर्ब छ करोड ४५ लाख ४१ हजार ६१ रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा समेटिएपछि योगदानकर्ता र योगदान रकम दुवै वृद्धि भएका छन्। पेन्सन, औषधि उपचार र अन्य सामाजिक सुरक्षा कार्यक्रम विस्तार भएसँगै कोषप्रति सर्वसाधारणको चासो पनि बढेको छ।
कोषले सङ्कलित रकम विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्न शुरु गरेको छ। यस्तो लगानीबाट कोषको वित्तीय स्थायित्व सुदृढ हुनुका साथै अर्थतन्त्रमा बहुआयामिक लाभ पुग्ने विश्वास गरिएको छ।





