२० भाद्र २०८३, शनिबार

मापदण्ड नपुग्दा हुम्लाको पशुपक्षी श्रोत केन्द्रको १ करोड ५५ लाख बजेट फिर्ता

ड्रागन मिडिया समाचार कक्ष

पशु अस्पताल तथा पशु सेवा कार्यालय, हुम्लाबाट आर्थिक वर्ष २०८२/८३ मा पशुपक्षी श्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रमका लागि विनियोजित एक करोड ५५ लाख रुपैयाँ बजेट फिर्ता भएको छ।

कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले निर्धारण गरेको मापदण्ड पूरा हुने गरी कुनै पनि सेवाग्राहीबाट प्रस्ताव नआएपछि बजेट खर्च हुन नसकेको कार्यालय प्रमुख तथा पशु चिकित्सक नवीन पौडेलले जानकारी दिए।

हुम्लालाई विशेष प्राथमिकतामा राखेर चौरी र च्याङ्ग्रापालन प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको थियो। कार्यालयले प्रस्ताव आह्वान गरे पनि निर्धारित मापदण्डअनुसार योग्य प्रस्ताव प्राप्त नभएपछि कार्यक्रम अघि बढ्न नसकेको हो।

कार्यक्रम सञ्चालनका लागि निर्धारण गरिएका नौ बुँदे मापदण्डमध्ये बुँदा ‘ख’ मा न्यूनतम पूर्वाधार अनिवार्य गरिएको थियो। त्यसअन्तर्गत पशुपक्षीको उमेर, जात र लिङ्गअनुसार व्यवस्थापन, क्वारेन्टाइन, स्वास्थ्य अवस्थाअनुरूप फरक गोठ, दानापानी, चरन, मलमूत्र व्यवस्थापन, जैविक सुरक्षा तथा औषधि उपचारको व्यवस्था हुनुपर्ने शर्त थियो।

त्यसैगरी, बुँदा ‘ङ’ मा श्रोत केन्द्रले पशुपक्षीको नियमित अभिलेख राख्नुका साथै वंशावलीसम्बन्धी पेडिग्री सिट अनिवार्य रूपमा व्यवस्थापन गर्नुपर्ने व्यवस्था थियो। यी दुवै प्रमुख मापदण्ड पूरा हुने गरी प्रस्ताव नआएपछि कार्यक्रम कार्यान्वयन हुन नसकेको कार्यालयले जनाएको छ।

विनियोजित बजेटमध्ये ५० लाख रुपैयाँ च्याङ्ग्रापालनका लागि छुट्याइएको थियो। चौरीपालनका लागि नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका वडा नम्बर १ को दोजम क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न २५ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

बाँकी ८० लाख रुपैयाँका लागि हुम्लाभरिका सेवाग्राहीले पशुपक्षी श्रोत केन्द्र सञ्चालनसम्बन्धी प्रस्ताव पेश गर्न सक्ने गरी सूचना सार्वजनिक गरिएको थियो। तर कुनै पनि प्रस्तावले निर्धारित पूर्वाधार र अभिलेख व्यवस्थापनसम्बन्धी मापदण्ड पूरा गर्न नसकेपछि सम्पूर्ण बजेट फिर्ता गएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button