२० भाद्र २०८३, शनिबार

नेपाल, चीन र एफएओको कृषिखाद्य प्रणाली सुदृढीकरण परियोजना शुरु

ड्रागन मिडिया समाचार कक्ष

नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र चीन सरकारको साझेदारीमा नेपालमा कृषिखाद्य प्रणाली सुदृढीकरण परियोजना औपचारिक रूपमा शुरु भएको छ।

चीन सरकारको वैश्विक विकास तथा दक्षिण दक्षिण सहयोग कोषको आर्थिक सहयोगमा सञ्चालन हुने २४ महिने परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील कृषि प्रवर्द्धन, ग्रामीण जीविकोपार्जन सुधार तथा खाद्य र पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखेको छ।

नेपाल सरकारको अनुरोधमा तयार गरिएको परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु अनुकूल कृषि अभ्यास, पोषण सुधार, वातावरणीय दिगोपना, डिजिटल नवप्रवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग गर्नेछ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले परियोजनाले जलवायु अनुकूल कृषि, खाद्य तथा पोषण सुरक्षा, बजार पहुँच र स्थानीय संस्थागत क्षमता सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

उनले उत्थानशील, प्रतिस्पर्धी र दिगो कृषिखाद्य प्रणाली विकासमार्फत खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकाससम्बन्धी राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजना उपयोगी हुने बताइन्।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपालको कृषि आधुनिकीकरण र कृषिखाद्य प्रणालीको रूपान्तरणमा चीनको निरन्तर सहयोग रहने बताए।

उनले दक्षिण दक्षिण सहयोग, प्रविधि हस्तान्तरण, क्षमता विकास र ज्ञान आदानप्रदानमार्फत परियोजनाले कृषि उत्पादकत्व, जलवायु उत्थानशीलता र खाद्य सुरक्षा सुदृढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

एफएओको दक्षिण दक्षिण तथा त्रिकोणीय सहयोग महाशाखाकी निर्देशक ह्वा याङले परियोजनाले राम्रो उत्पादन, राम्रो पोषण, राम्रो वातावरण र राम्रो जीवनसम्बन्धी एफएओको अवधारणालाई अघि बढाउने बताइन्।

उनले कृषिखाद्य प्रणालीको दिगो विकासका लागि स्थानीय स्वामित्व, प्रभावकारी साझेदारी र किसानको जीवनमा देखिने परिणाम आवश्यक रहेको उल्लेख गर्दै परियोजना एसिया तथा अन्य क्षेत्रका लागि दक्षिण दक्षिण सहयोगको सफल नमुना बन्न सक्ने विश्वास व्यक्त गरिन्।

परियोजना काभ्रेपलाञ्चोकका मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा इलामका रोङ गाउँपालिका र इलाम नगरपालिकामा कार्यान्वयन हुनेछ।

परियोजनाअन्तर्गत स्थानीय तह, सहकारी, कृषक समूह, कृषि प्रसार सेवा प्रदायक र अन्य स्थानीय संस्थाको क्षमता अभिवृद्धि गरिनेछ। कृषि उत्पादन वृद्धि, जीविकोपार्जन विविधीकरण, बजार सम्पर्क, प्राकृतिक श्रोत व्यवस्थापन र स्थानीय सेवा प्रवाह सुधारमा पनि सहयोग गरिनेछ।

डिजिटल कृषि विस्तार सेवामार्फत किसानलाई समयमै प्राविधिक परामर्श, मौसमसम्बन्धी सूचना, वित्तीय सेवा, कृषि बीमा र बजार जानकारी उपलब्ध गराइनेछ।

परियोजनाले साना किसानको प्रतिस्पर्धात्मक क्षमता बढाउने, जलवायुजन्य जोखिम घटाउने तथा स्थानीय तहमा तथ्य र सूचनामा आधारित निर्णय प्रक्रियालाई सहयोग गर्ने लक्ष्य राखेको छ।

महिला, युवा र सीमान्तकृत समुदायको सहभागिता विस्तार गर्दै स्थानीय कृषिखाद्य प्रणालीलाई थप समावेशी र उत्थानशील बनाइनेछ।

नेपाल र भुटानका लागि एफएओ प्रतिनिधि केन शिमिजुले परियोजनाले साझेदारी, नवप्रवर्तन र स्थानीय नेतृत्वमार्फत उत्थानशील, समावेशी तथा दिगो कृषिखाद्य प्रणाली निर्माण गर्ने नेपाल, चीन र एफएओको साझा प्रतिबद्धता प्रतिबिम्बित गरेको बताए।

परियोजनाले अन्तर्राष्ट्रिय प्राविधिक ज्ञान, विकास अनुभव र स्थानीय क्षमताबीच समन्वय गर्दै नेपालमा दीर्घकालीन कृषिखाद्य प्रणाली रूपान्तरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button