२३ भाद्र २०८३, मंगलवार

लिग–२ मा आज नामिबियासँग खेल्दै नेपाल

ड्रागन मिडिया समाचार कक्ष

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा आयोजना हुने त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे उट्रेख्तस्थित काम्पोङ क्रिकेट मैदानमा सुरु हुनेछ।

आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी श्रृंखलामा नेपालले कुल चार खेल खेल्नेछ। नेपालले जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै श्रृंखला समापन गर्नेछ।

लिग–२ को शीर्ष चारमा रहँदै सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा सीधै स्थान बनाउने सम्भावना जीवित राख्न नेपालका लागि यो श्रृंखला महत्त्वपूर्ण छ।

नेपाल अहिले २८ खेलबाट २४ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ। नेदरल्यान्ड्स २८ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा रहँदा नामिबियाले २२ अंक जोडेको छ। शीर्ष स्थानको अमेरिकासँग ४३, दोस्रो स्थानको स्कटल्यान्डसँग ३८ र चौथो स्थानको ओमानसँग ३१ अंक छ।

यस श्रृंखलाका चारै खेल जिते नेपालको अंक ३२ पुग्नेछ, जुन अहिले चौथो स्थानमा रहेको ओमानको अंकभन्दा एक बढी हो। यद्यपि, शीर्ष चारको अन्तिम समीकरण अन्य टोलीका बाँकी खेलको नतिजामा पनि निर्भर हुनेछ।

नेपालले नेदरल्यान्ड्स पुग्नुअघि जर्सीविरुद्ध खेलेका दुवै अभ्यास खेल जितेको थियो। पहिलो खेलमा ८१ रनको विजय हात पारेको नेपालले वर्षाले प्रभावित दोस्रो खेल डकवर्थ लुइस पद्धतिअनुसार जितेको थियो। यसले नेपाली टोलीको मनोबल बढाएको छ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी छन्।

सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button