बौद्धमा आत्महानिको प्रयासपछि महिला अस्पताल भर्ना
ड्रागन मिडिया समाचार कक्ष
काठमाडौंको बौद्ध गेट नजिक सोमबार दिउँसो आत्महानिको प्रयास गरेकी एक महिलालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध गेट नजिक दिउँसो करिब २:४५ बजे घटना भएको हो।
काभ्रे घर भई गोकर्णेश्वरको माकलबारी क्षेत्रमा बस्दै आएकी २७ वर्षीया महिलालाई परिवारको सहयोगमा तत्काल साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्याइएको थियो।
त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा स्थानान्तरण गरिएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
महिला आफ्ना श्रीमानसँग मिलेर खाजा पसल सञ्चालन गर्दै आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनाअघि दम्पतीबीच विवाद भएको विवरण आए पनि प्रहरीले त्यसलाई घटनाको निश्चित कारणका रूपमा पुष्टि गरेको छैन। घटनाको परिस्थिति र अन्य सम्भावित कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





