रुस र उत्तर कोरियाबीच रणनीतिक संवाद, साझेदारी थप विस्तार गर्ने सहमति

ड्रागन मिडिया समाचार कक्ष
रुस र कोरियाली जनवादी जनगणतन्त्र (उत्तर कोरिया)ले व्यापक रणनीतिक साझेदारीसम्बन्धी सन्धिअनुसार द्विपक्षीय सम्बन्धका सबै क्षेत्रलाई थप विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
रुसी विदेशमन्त्री सर्गेई लावरोभ र उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईबीच २० जुलाईमा मस्कोमा भएको तेस्रो रुस–उत्तर कोरिया रणनीतिक संवादका क्रममा उक्त सहमति भएको हो।
वार्तामा दुई देशको द्विपक्षीय कार्यसूचीका प्रमुख विषयमा विस्तृत छलफल भएको रुसी विदेश मन्त्रालयले जनाएको छ। मन्त्रीहरूले जुन २०२४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली राज्य मामिला अध्यक्ष किम जोङ उनले गरेका सहमतिको कार्यान्वयनमा विशेष ध्यान दिएका थिए।
दुवै पक्षले रुस र उत्तर कोरियाबीचको व्यापक रणनीतिक साझेदारीसम्बन्धी सन्धिको भावना र प्रावधानअनुसार राजनीतिक, आर्थिक, सुरक्षा तथा अन्य क्षेत्रको सम्बन्धलाई थप विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रुसी पक्षले उक्त सन्धिले परम्परागत मित्रवत सम्बन्धलाई नयाँ रणनीतिक तथा गठबन्धनको तहमा पुर्याएको जनाएको छ।
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा छलफल गर्दै दुवै देशले कोरियाली प्रायद्वीप आसपास अमेरिकासहित उसका सहयोगीले विस्तार गरेका सैन्य गतिविधिलाई पूर्वोत्तर एसियाको सुरक्षा अवस्था बिग्रनुको मुख्य कारणका रूपमा व्याख्या गरेका छन्।
उनीहरूले रुस र उत्तर कोरियाबीचको सम्बन्ध सुदृढ हुनु क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा, समानता, पारस्परिक सम्मान र एकअर्काको हितप्रतिको सम्मानमा आधारित बहुध्रुवीय विश्व व्यवस्थाको विकासका लागि सहयोगी हुने धारणा राखेका छन्।
रुस र उत्तर कोरियाका विदेशमन्त्रीस्तरीय रणनीतिक संवाद नोभेम्बर २०२४ मा प्योङयाङ शिखर वार्तामा भएको सहमतिअनुसार शुरु गरिएको थियो। संवादको दोस्रो चरण जुलाई २०२५ मा उत्तर कोरियाको वनसानमा आयोजना भएको थियो।
दुवै पक्षले विदेशमन्त्रीस्तरीय रणनीतिक संवादलाई निरन्तरता दिने तथा विभिन्न तहमा नियमित कूटनीतिक आदानप्रदान कायम राख्ने सहमति गरेका छन्।





