दोलखाको सिप्रिङ खोलामा बाढी, एक वृद्ध बेपत्ता; चार कामदार भीरमा फसे

ड्रागन मिडिया समाचार कक्ष
दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा मङ्गलबार राति आएको बाढीले एक वृद्धलाई बगाएको छ भने जलविद्युत् आयोजनामा कार्यरत चार जना जोखिमपूर्ण स्थानमा फसेका छन्।
स्थानीय बासिन्दाका अनुसार बाढीले बगाएर बेपत्ता हुनेमा करिब ७३ वर्षीय चसमान तामाङ छन्। उनको खोजी भइरहेको छ।
सिप्रिङ खोला जलविद्युत् आयोजनामा कार्यरत चार जना बाढीबाट जोगिने क्रममा भीरमा फसेको स्थानीयले बताएका छन्। खोलामा निरन्तर बाढी आइरहेकाले उनीहरूको तत्काल उद्धार गर्न कठिनाइ भएको जनाइएको छ।
बाढीले जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा समेत क्षति पुर्याएको छ। आयोजनामा भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।
बेपत्ता वृद्धको खोजी तथा भीरमा फसेका कामदारको उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय भइरहेको बताइएको छ।





