१८ भाद्र २०८३, बिहीबार

मेची भन्सारको राजस्व ११ प्रतिशत बढ्यो, लक्ष्य भने पूरा भएन

ड्रागन मिडिया समाचार कक्ष

पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२–८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

यो अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा एक अर्ब ७४ करोड ६० लाख ४५ हजार रुपैयाँ बढी हो। अघिल्लो वर्ष कार्यालयले १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

यस आधारमा मेची भन्सारको राजस्व सङ्कलन करिब ११ प्रतिशतले वृद्धि भएको छ।

राजस्व असुली बढे पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न सकेन। आर्थिक वर्ष २०८२–८३ का लागि कार्यालयलाई १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो।

कार्यालयले निर्धारित लक्ष्यको करिब ९३.६४ प्रतिशत हासिल गरेको छ। लक्ष्यभन्दा एक अर्ब २० करोड दुई लाख ७२ हजार रुपैयाँ कम राजस्व सङ्कलन भएको देखिन्छ।

मेची भन्सार कार्यालय नेपाल–भारत सीमास्थित पूर्वी नेपालको महत्वपूर्ण आयात–निर्यात नाका हो। यस नाकाबाट नेपालमा उत्पादित चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो र छुर्पीलगायत कृषिजन्य वस्तु निर्यात हुँदै आएका छन्।

त्यसैगरी पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुने गरेका छन्।

वार्षिक लक्ष्य पूरा नभए पनि अघिल्लो वर्षको तुलनामा भएको करिब ११ प्रतिशतको वृद्धिले काँकरभिट्टा नाकाबाट हुने व्यापारिक गतिविधि र राजस्व परिचालनमा सुधार आएको सङ्केत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button