रुस र युक्रेनबीच युद्धबन्दीलाई पारस्परिक रूपमा भेट्ने व्यवस्था

ड्रागन मिडिया समाचार कक्ष
रुसी संघकी मानवअधिकार आयुक्त याना लान्ट्रातोभाले रुसमा राखिएका युक्रेनी युद्धबन्दीलाई भेटेर उनीहरूको अवस्था अनुगमन गरिएको बताएकी छन्।
रुसी समाचार संस्था ताससँगको कुराकानीमा लान्ट्रातोभाले रुस र युक्रेनका मानवअधिकार आयुक्तबीच एकअर्काको नियन्त्रणमा रहेका युद्धबन्दीलाई पारस्परिक रूपमा भेट्ने व्यवस्था बनेको जानकारी दिइन्।
समझदारीअनुसार लान्ट्रातोभाले रुसमा रहेका युक्रेनी युद्धबन्दीलाई भेट्ने र युक्रेनी संसदका मानवअधिकार आयुक्त दिमित्रो लुबिनेत्सले युक्रेनमा रहेका रुसी युद्धबन्दीलाई भेट्ने गरेका छन्। यस प्रक्रियाको उद्देश्य बन्दीको अवस्था, उपचार, आधारभूत आवश्यकता र अधिकारको पालनाबारे जानकारी लिनु रहेको बताइएको छ।
दुवै पक्षबीच युद्धबन्दीका परिवारबाट पठाइएका पत्र र पार्सल हस्तान्तरण गर्ने तथा मृत्यु भएका सैनिकका परिवारलाई आवश्यक प्रमाणपत्र उपलब्ध गराउन सहयोग गर्ने सहमतिसमेत भएको लान्ट्रातोभाले बताइन्।
उनका अनुसार दुवै देशका मानवअधिकार आयुक्तका कार्यालयले बेपत्ता सैनिकसम्बन्धी सूची आदानप्रदान गर्दै सम्बन्धित व्यक्ति बन्दी अवस्थामा रहे वा नरहेको जाँच गर्ने गरेका छन्। पुष्टि भएका विवरण त्यसपछि रक्षा मन्त्रालय र सम्बन्धित निकायलाई पठाइने गरिएको छ।
लान्ट्रातोभाले आफू मानवअधिकार आयुक्त नियुक्त भएपछि भएका आदानप्रदानमार्फत ५५० रुसी सैनिक स्वदेश फर्किएको र रुसले पनि समान संख्यामा युक्रेनी युद्धबन्दी हस्तान्तरण गरेको बताएकी छन्।
रुस र युक्रेनले सैनिक तथा गैरसैनिक बन्दीको नयाँ आदानप्रदानका लागि छुट्टाछुट्टै सूची तयार गरिरहेको पनि उनले जानकारी दिइन्। सम्भावित आदानप्रदानको मिति भने वार्ता प्रभावित हुन सक्ने भन्दै सार्वजनिक गरिएको छैन।
युद्धबन्दीको मानवीय व्यवहार, स्वास्थ्य सेवा, परिवारसँग सम्पर्क तथा स्वतन्त्र अनुगमनको अधिकार सन् १९४९ को तेस्रो जेनेभा महासन्धिले सुनिश्चित गरेको छ। रुस र युक्रेन दुवैमाथि आफ्नो नियन्त्रणमा रहेका युद्धबन्दीको सुरक्षा र अधिकार संरक्षण गर्ने अन्तर्राष्ट्रिय दायित्व छ।





