नेपाल–रुस कूटनीतिक सम्बन्धका ७० वर्ष, काठमाडौंमा विशेष समारोह

ड्रागन मिडिया समाचार कक्ष
काठमाडौंस्थित रुसी गृहमा नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा विशेष समारोह आयोजना गरिएको छ।
२० जुलाई २०२६ मा आयोजित कार्यक्रम ‘रुस–नेपाल : मित्रता र सहकार्यका ७० वर्ष’ शीर्षकको ऐतिहासिक फोटो प्रदर्शनी उद्घाटनबाट शुरु भएको थियो। नेपाल र रुसमा शुभकार्यको प्रतीक मानिने दीप प्रज्वलन गरी प्रदर्शनी उद्घाटन गरिएको आयोजकले जनाएको छ।


कार्यक्रमका विशिष्ट अतिथिमा प्रतिनिधिसभा सदस्य, नेपाल–रुस संसदीय मैत्री समूहका संयोजक तथा पूर्वमन्त्री वर्षमान पुन, नेपालका लागि रुसी राजदूत अलेक्सेई सुरोवत्सेभ र काठमाडौंस्थित रुसी गृहकी निर्देशक अनास्तासिया खोख्लोभा सहभागी थिए।
त्यसैगरी नेपालमा रुससँग मित्रता र सहकार्य प्रवर्द्धन गर्दै आएका विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि अच्युतानन्द भण्डारी, गणेश शाह, कृष्णप्रसाद भण्डारी, रामबिन्दु श्रेष्ठ, प्राध्यापक बुलन्द थापा, विष्णुबहादुर सिंह, दिवस अमात्य, नवराज बुढाथोकी तथा नेपाल–रुस मैत्री एवं सांस्कृतिक संघका महासचिव स्वराज शाक्यको पनि उपस्थिति थियो।


नेपाल र रुसका राष्ट्रिय गान प्रस्तुत गरिएपछि दुवै देशका विदेशमन्त्रीले आदानप्रदान गरेका शुभकामना सन्देश वाचन गरिएको थियो। नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले रुसी सरकार र जनतालाई शुभकामना व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध थप सुदृढ र विस्तृत बनाउन सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नुपर्ने बताएका थिए।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले नेपाल र रुसबीचको दीर्घकालीन साझेदारी दुवै देशका जनताको पारस्परिक हितका लागि थप सुदृढ बनाउने इच्छा व्यक्त गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै राजदूत सुरोवत्सेभले सन् २०२५ सेप्टेम्बरमा चीनको तियान्जिनमा आयोजित शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनका क्रममा नेपाल र रुसका नेताबीच भएको भेटले सहकार्य विस्तार गर्ने दुवै पक्षको तत्परता प्रतिबिम्बित गरेको बताए।

तियान्जिनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच व्यापार, लगानी, शिक्षा, संस्कृति तथा दुई देशबीचको हवाई सम्पर्क विस्तारबारे छलफल भएको थियो।
राजदूत सुरोवत्सेभले दुई देशबीचको सम्बन्धलाई निरन्तर बलियो बनाउँदै आएका नेपाली तथा रुसी सामाजिक संस्थाप्रति आभार व्यक्त गरे। उनले सोभियतकालीन सहयोगको स्मृति नेपाली समाजमा अझै जीवित रहेको बताए।
“हामीप्रति नेपाली जनताको विशेष र न्यानो भावना रहेको अनुभव गरेका छौँ,” उनले भने, “दशकौँदेखि परीक्षित यही मित्रता नयाँ र आधुनिक सहकार्य निर्माण गर्ने बलियो आधार हो।”
दूतावासमा आउने कतिपय पत्रमा अझै पनि रुसी अधिकारीलाई ‘कमरेड’ भनेर सम्बोधन गरिने उल्लेख गर्दै उनले सोभियत संघले नेपालको विकासमा गरेको सहयोगप्रति नेपाली जनताले राखेको स्मृतिको प्रशंसा गरे।
रुसी गृहकी निर्देशक खोख्लोभाले सोभियत तथा रुसी विश्वविद्यालयबाट अध्ययन पूरा गरेका हजारौँ नेपालीले मस्को र काठमाडौंलाई जोड्ने महत्त्वपूर्ण सेतुको भूमिका निर्वाह गर्दै आएको बताइन्।
उनले रुसी गृहले चार दशकभन्दा बढी समयदेखि नेपालमा रुसको सांस्कृतिक तथा मानवीय सहकार्यको प्रमुख केन्द्रका रूपमा काम गर्दै आएको उल्लेख गरिन्।
खोख्लोभाका अनुसार रुसी र नेपाली साहित्यकार तथा अनुवादकले विद्वान कृष्णप्रकाश श्रेष्ठले अघि बढाएको साहित्यिक आदानप्रदानको परम्परालाई निरन्तरता दिइरहेका छन्। आधुनिक कृतिको अनुवाद र नयाँ प्रकाशनले नेपाली युवालाई रुस तथा रुसी पाठकलाई नेपालसँग नजिक ल्याउन सहयोग गरिरहेको उनको भनाइ थियो।
उनले नेपाललाई न्यायपूर्ण र बहुध्रुवीय विश्व व्यवस्थाका सिद्धान्तप्रति समान दृष्टिकोण राख्ने रुसको विश्वसनीय साझेदारका रूपमा व्याख्या गरिन्। विगतको अनुभवका आधारमा व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्ने, रुसी विश्वविद्यालयमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या बढाउने र सांस्कृतिक आदानप्रदानका कार्यक्रम विस्तार गर्न सकिने उनले बताइन्।
कार्यक्रममा नेपाल–रुस विज्ञान समाज, सोभियत तथा रुसी विश्वविद्यालयका पूर्वविद्यार्थीको संस्था मित्रकुञ्ज, फ्रेन्ड्स अफ रुदन सोसाइटी, नेपाल–रुस साहित्य समाज, नेपाल–रुस उद्योग वाणिज्य संघ र शैली थिएटरका प्रतिनिधिले दुई देशबीचको सम्बन्ध प्रवर्द्धनमा आफ्ना संस्थाले पुर्याएको योगदानबारे धारणा राखेका थिए।
सांस्कृतिक कार्यक्रममा नेपाली कलाकारले राष्ट्रिय नृत्य प्रस्तुत गरेका थिए। याना येलिसेयेभाले प्रसिद्ध ब्याले प्रस्तुति ‘द डाइङ स्वान’ पेश गरेकी थिइन् भने जुजुकाजी रञ्जितले साङ्गीतिक प्रस्तुति दिएका थिए। भेरा युर्चेन्कोले रुसी गीत ‘नादेज्दा’ गाएकी थिइन्।
कार्यक्रम आयोजकले सांस्कृतिक प्रस्तुतिलाई नेपाल र रुसका जनताबीचको अविच्छिन्न मित्रताको प्रतीकका रूपमा व्याख्या गरेको छ।
नेपाल र तत्कालीन सोभियत संघबीच २० जुलाई १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुई देशबीच राजनीतिक, शैक्षिक, सांस्कृतिक, वैज्ञानिक तथा जनस्तरीय सहकार्य विस्तार हुँदै आएको छ।
समारोह अनौपचारिक स्वागत तथा अतिथिबीचको संवादसँगै समापन भएको थियो। आयोजकका अनुसार कार्यक्रमले सात दशक लामो कूटनीतिक सम्बन्ध सरकारबीचको सम्पर्कमा मात्र नभई दुई देशका जनताबीच विकसित मित्रतामा आधारित रहेको सन्देश दिएको छ।





