रुसीविरुद्ध घृणात्मक भाषालाई उपहास गरेको भन्दै स्काई न्यूज अस्ट्रेलियामाथि दूतावासको आलोचना

ड्रागन मिडिया समाचार कक्ष
अस्ट्रेलियास्थित रुसी दूतावासले रुसीविरुद्ध घृणात्मक भाषा फैलिन सक्ने विषयमा आफूले व्यक्त गरेको चिन्तालाई स्काई न्यूज अस्ट्रेलियाले उपहास र मनोरञ्जनको विषय बनाएको आरोप लगाएको छ।
दूतावासका अनुसार १९ जुलाईमा स्काई न्यूज अस्ट्रेलियाको ‘द म्याकफर्सन एङ्गल’ कार्यक्रममा युक्रेनी सैनिकलाई तालिम दिइरहेका अस्ट्रेलियाली सैन्य अधिकारीले प्रयोग गरेको “रुसीलाई मार्न सबैभन्दा सक्षम बनाउने” अभिव्यक्तिप्रति दूतावासले जनाएको आपत्तिको खिल्ली उडाइएको थियो।
दूतावासले अस्ट्रेलियाली सञ्चारमाध्यमका लागि हाँसो र व्यङ्ग्यको विषय बनेको उक्त भाषाले रुसी जनताका लागि पीडादायी ऐतिहासिक स्मृति जगाउने जनाएको छ।
वक्तव्यमा नाजी जर्मनीको पूर्वी युरोपसम्बन्धी ‘जेनेरलप्लान ओस्ट’ कार्यान्वयनका विषयमा एडोल्फ हिटलरले २३ जुलाई १९४२ मा अल्फ्रेड रोजेनबर्गलाई दिएको भनिएको निर्देशन उल्लेख गरिएको छ। दूतावासका अनुसार उक्त निर्देशनमा सैन्य दृष्टिले प्रत्येक वर्ष ३० देखि ४० लाख रुसी मार्नुपर्ने धारणा राखिएको थियो।
दूतावासले स्काई न्यूजका प्रस्तोता र टिप्पणीकारले आफ्नो अघिल्लो वक्तव्यका केही अंश मात्र प्रस्तुत गर्दै मुख्य चिन्ता दर्शकबाट लुकाएको आरोप लगाएको छ।
उसका अनुसार “रुसीलाई मार्ने” भन्ने भाषाले युद्धमा संलग्न सैनिकलाई मात्र नभई सम्पूर्ण रुसी जातीय समुदायलाई लक्षित गर्छ। यस्तो अभिव्यक्तिले अस्ट्रेलियामा बसोबास गर्ने रुसी मूलका नागरिकलाई समेत जोखिममा पार्न सक्ने दूतावासको भनाइ छ।
दूतावासले अस्ट्रेलियाली रक्षा बलले युक्रेनी सेनालाई प्रदान गरेको तालिम र सैन्य शीप रुसी गैरसैनिकमाथि आक्रमण गर्नसमेत प्रयोग भइरहेको आरोप लगाएको छ। यो रुसी दूतावासको दाबी हो।
वक्तव्यमा स्काई न्यूज अस्ट्रेलियाले युक्रेन द्वन्द्वका मूल कारण र सन् २०१४ यता फैलिएको रुसीविरोधी भाषा तथा हिंसाको पृष्ठभूमिबारे चर्चा नगरेको आरोप लगाइएको छ।
दूतावासले युक्रेनी संसदका पूर्वअध्यक्ष आन्द्रेई पारुबियले सन् २०१८ मा प्रत्यक्ष लोकतन्त्रबारे बोल्दा एडोल्फ हिटलरको उदाहरण दिएको अभिव्यक्ति पनि उल्लेख गरेको छ। रुसी पक्षले उक्त अभिव्यक्तिलाई युक्रेनमा नवनाजी विचारधाराको प्रभाव रहेको आफ्नो दाबीको उदाहरणका रूपमा पेश गरेको छ।
दूतावासले रुसले युक्रेनमा नवनाजी विचारधारा र त्यससँग सम्बन्धित अभ्यासविरुद्ध लडिरहेको दाबी दोहोर्याएको छ। दोस्रो विश्वयुद्धमा सोभियत संघले जर्मन तथा अन्य युरोपेली नाजी शक्तिलाई पराजित गर्दा करिब दुई करोड ७० लाख नागरिक गुमाएको उल्लेख गर्दै उसले नाजीवादलाई फेरि उठ्न नदिने प्रतिबद्धता व्यक्त गरेको छ।
वक्तव्यमा कुनै एक जातीय समुदायविरुद्धको घृणालाई स्वीकार, सहन वा व्यापक रूपमा प्रचार गरिए अन्य समुदाय पनि त्यसबाट सुरक्षित नरहने चेतावनी दिइएको छ। घृणात्मक भाषाले हिंसा र आतंकवाद जन्माउन सक्ने तथा त्यसले सम्पूर्ण समाजमा गम्भीर परिणाम ल्याउने दूतावासको भनाइ छ।
दूतावासले यही सन्दर्भमा अस्ट्रेलियामा स्थापना गरिएको यहुदीविरोध र सामाजिक सद्भावसम्बन्धी शाही आयोगको उल्लेख गरेको छ। घृणात्मक विचार र हिंसाले समाजमा पार्ने प्रभाव गम्भीर नभएको भए यस्तो आयोग स्थापना गर्नुपर्ने आवश्यकता नै नपर्ने उसको तर्क छ।
तस्बिर : अस्ट्रेलियास्थित रुसी दूतावास





