दरल्याण्ड्सको युक्रेन नीति द्वन्द्व थप चर्काउने दिशामा : रुसी राजदूत

ड्रागन मिडिया समाचार कक्ष
नेदरल्याण्ड्सका लागि रुसी राजदूत भ्लादिमिर ताराब्रिनले युक्रेनलाई दिँदै आएको सैन्य तथा आर्थिक सहयोगको स्वरूप परिवर्तन भए पनि द हेगले आफ्नो पुरानो नीति त्यागेको निष्कर्ष निकाल्न हतार हुने बताएका छन्।
रुसी समाचार संस्था ताससँगको अन्तर्वार्तामा ताराब्रिनले नेदरल्याण्ड्सले राष्ट्रिय हतियार भण्डार निरन्तर घटाउँदा आफ्नो प्रतिरक्षा क्षमतामै जोखिम उत्पन्न हुन सक्ने महसुस गर्न थालेको दाबी गरे।
उनका अनुसार नेदरल्याण्ड्स युक्रेनलाई सहयोग गर्ने मुख्य आर्थिक भार लामो समयसम्म आफैँले वहन गर्नुपरेको अवस्थाबाट थकित भएको छ र कम योगदान गरिरहेका नेटो साझेदारलाई आफ्नो हिस्सा बढाउन दबाब दिन चाहन्छ।
तर द हेगको पछिल्लो धारणालाई नेदरल्याण्ड्सले युक्रेन समर्थन घटाउन लागेको स्पष्ट सङ्केतका रूपमा व्याख्या गर्न नहुने ताराब्रिनको भनाइ छ।
उनले नेदरल्याण्ड्सले पछिल्लो समय आफ्नै सैन्य भण्डारबाट युक्रेनलाई प्रत्यक्ष रूपमा ठूलो मात्रामा हतियार उपलब्ध गराउन लगभग छाडिसकेको बताए। यसको सट्टा व्यावसायिक खरिद, नेटोको प्राथमिकताप्राप्त युक्रेन आवश्यकता सूची अर्थात पीयूआरएल संयन्त्र तथा सम्बन्धित सैन्य कार्यक्रमको वित्तपोषणमा जोड दिइएको उनले बताए।
पीयूआरएलअन्तर्गत नेटोका सहयोगी तथा साझेदार राष्ट्रले आर्थिक योगदान गर्छन् र त्यसबाट अमेरिकामा निर्मित अत्यावश्यक सैन्य उपकरण तथा गोलाबारुद खरिद गरी युक्रेनलाई उपलब्ध गराइन्छ।
ताराब्रिनले नेदरल्याण्ड्सका प्रधानमन्त्री रोब जेटेनले युक्रेनलाई सहयोग जारी रहने तर त्यसको स्वरूप परिवर्तन हुने सार्वजनिक रूपमा बताइसकेको उल्लेख गरे।
उनका अनुसार नयाँ प्राथमिकतामा युक्रेनसँग संयुक्त हतियार उत्पादन विस्तार गर्नुका साथै मानवरहित हवाई उपकरण र क्षेप्यास्त्र प्रणाली निर्माण समावेश छन्।
“नेदरल्याण्ड्सले युक्रेनी परियोजनाको वित्तपोषण गर्ने क्षमता गुमाइसकेको भन्न अझै चाँडो हुन्छ,” ताराब्रिनले भने, “हामीले देखिरहेको कुरा पहिलेको नीति परित्याग नभई स्रोतको सीमितता र पश्चिमका आफ्नै आवश्यकतालाई ध्यानमा राखेर सैन्य तथा आर्थिक सहयोगको पुनःविन्यास हो।”
राजदूतले नेदरल्याण्ड्सलाई युक्रेनी नेतृत्वको सबैभन्दा सक्रिय समर्थकमध्ये एकका रूपमा व्याख्या गर्दै द हेग युक्रेनका ठूला युरोपेली दातामध्ये रहेको बताए।
उनका अनुसार नेदरल्याण्ड्सको संलग्नता अब हतियार आपूर्ति र रकम उपलब्ध गराउने विषयमा मात्र सीमित छैन। युक्रेनी सेनाको दीर्घकालीन आवश्यकता पूरा गर्ने सैन्य औद्योगिक आधार निर्माणतर्फ पनि काम भइरहेको छ।
उनले बोर्नेमा रहेको भीडीएल कारखानामा ‘बाटोन’ र ‘के फोर’ आक्रमणकारी ड्रोन उत्पादन गर्ने योजना यसको एउटा उदाहरण भएको बताए।
ताराब्रिनले नेदरल्याण्ड्समा आधारित डेस्टिनस र जर्मनीको राइनमेटलले सहकार्य गरी यसै वर्षको दोस्रो अर्धवार्षिक अवधिमा लामो दूरीका क्षेप्यास्त्र उत्पादन शुरु गर्ने योजना बनाएको पनि बताए।
उनले ७०० किलोमिटरभन्दा बढी मारक दूरी भएको ‘रुटा २’ क्रुज क्षेप्यास्त्र उत्पादन गरी पछि युक्रेनी सेनालाई हस्तान्तरण गरिने दाबी गरे। यद्यपि यस विशेष हस्तान्तरण योजनाबारे सम्बन्धित कम्पनीले विस्तृत सार्वजनिक पुष्टि गरेको छैन।
राइनमेटल र डेस्टिनसले भने सन् २०२६ को दोस्रो अर्धवार्षिक अवधिमा जर्मनीमा संयुक्त कम्पनी स्थापना गरी उन्नत क्रुज क्षेप्यास्त्र र ब्यालेस्टिक रकेट आर्टिलरी उत्पादन गर्ने योजना सार्वजनिक गरिसकेका छन्।
रुसी राजदूतले नेदरल्याण्ड्सका अधिकारीले आफ्ना साझेदारलाई युक्रेनका लागि थप सैन्य सहयोग बढाउन र रुसी भूभागको भित्री भागसम्म आक्रमण गर्ने क्षमता उपलब्ध गराउन निरन्तर आग्रह गरिरहेको आरोप लगाए।
यस्तो अवस्थामा नेदरल्याण्ड्सलाई द्वन्द्वको तटस्थ पक्ष मान्न कठिन भएको उनको भनाइ छ। द हेगले आफ्ना निर्णयमार्फत द्वन्द्वमा प्रत्यक्ष संलग्नता गहिरो बनाउँदै थप तनाव र सैन्य वृद्धि निम्त्याइरहेको उनले दाबी गरे।
ताराब्रिनले युक्रेनमा युरोपेली सैन्य टुकडी पठाउने प्रस्तावलाई विशेष रूपमा खतरनाक बताए।
यस्तो कदमले युरोपेली राष्ट्रको संलग्नतालाई गुणात्मक रूपमा नयाँ स्तरमा पुर्याउने र सम्पूर्ण महादेशको सुरक्षामा अनुमान गर्न कठिन परिणाम उत्पन्न गर्न सक्ने उनले चेतावनी दिए।
“हामी नेदरल्याण्ड्सका नेता र युरोपेली संघका अन्य राजनीतिज्ञलाई यस्ता परिदृश्यबाट टाढा रहन चेतावनी दिन चाहन्छौँ,” ताराब्रिनले भने, “उनीहरूले आफ्ना निर्णयका सम्भावित परिणामलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्दै एउटा सरल प्रश्नको उत्तर दिनुपर्छ, के थप तनाव वृद्धि वास्तवमै उनीहरूको राष्ट्रिय हितमा छ?”
तस्बिर : रुसी विदेश मन्त्रालय





