७ श्रावण २०८३, बिहीबार

कीर्तिपुर कार आगलागी प्रकरणमा अरूको संलग्नता नदेखिएको प्रहरीको निष्कर्ष

ड्रागन मिडिया समाचार कक्ष

कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका सुरेशचन्द्र श्रेष्ठको घटनामा अन्य व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कीर्तिपुरले गरेको प्रारम्भिक अनुसन्धानबाट घटना आत्महत्यासँग सम्बन्धित रहेको निष्कर्ष निकालिएको काठमाडौँका प्रहरी अधिकारीहरूले बताएका छन्।

काठमाडौँ महानगरपालिका–२६ नरदेवी स्थायी घर भएका ७० वर्षीय श्रेष्ठ पछिल्लो समय परिवारसँग कीर्तिपुरस्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए।

प्रहरीका अनुसार श्रेष्ठ मङ्गलबार बिहान बा ५ च ३०३८ नम्बरको कार चलाएर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित चाँदनी चोक क्षेत्रमा पुगेका थिए। केही समयपछि खाली जग्गामा पार्किङ गरिएको कारमा आगलागी भएको थियो।

स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले आगो नियन्त्रणमा लिँदा श्रेष्ठ चालक सिटमा मृत अवस्थामा फेला परेका थिए।

प्रहरीले घटनास्थल आसपासका सिसिटिभी फुटेज, प्रत्यक्षदर्शीको बयान तथा अन्य उपलब्ध प्रमाणको अध्ययन गर्दा घटनामा अरू कसैको संलग्नता नदेखिएको जनाएको छ।

श्रेष्ठ औषधी व्यवसायमा संलग्न थिए। पारिवारिक श्रोतले पछिल्लो समय उनी आर्थिक कठिनाइ र तनावमा रहेको जानकारी दिएको छ। यद्यपि घटनाको कारणबारे अन्तिम निष्कर्ष निकाल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। पोस्टमार्टम तथा प्राविधिक परीक्षणको प्रतिवेदनपछि घटनाबारे थप विवरण स्पष्ट हुने प्रहरीले जनाएको छ।

यातायात व्यवस्था विभागको अभिलेखअनुसार उक्त कार सुरेशचन्द्र श्रेष्ठ र रजनी श्रेष्ठको नाममा रहेको पाइएको छ। कार सन् २००५ नोभेम्बरमा नबिल बैंकबाट कर्जा लिएर खरिद गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button