तुलसीपुरको निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव, पहिचान खुल्यो

ड्रागन मिडिया समाचार कक्ष
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतक सल्यान घर भई हाल तुलसीपुरमा बस्दै आएका कमल गिरी र घनश्याम गिरी हुन्।
उनीहरू दुवै जना मिलेर घर निर्माणसम्बन्धी काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पानी ट्याङ्कीमा दुई जनाको शव रहेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि मृतकको पहिचान खुलेको हो।
दुवै जनाको मृत्यु कसरी भयो भन्ने कारण अहिलेसम्म खुल्न सकेको छैन। ट्याङ्कीभित्र पस्नुको उद्देश्य, घटनाको समय तथा मृत्युको परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
पोस्टमार्टम तथा अन्य प्राविधिक परीक्षणको प्रतिवेदनपछि मृत्युको वास्तविक कारण स्पष्ट हुने अपेक्षा गरिएको छ।



