चिनियाँ नागरिक छुटाइदिने भन्दै नौ लाख ठगीको आरोपमा कलाकार नारद खतिवडासहित तीन पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा कलाकार नारदप्रसाद खतिवडासहित तीन जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–८ सिरिसे घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा, नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ घर भएका ५९ वर्षीय गोपालबहादुर गुरुङ र सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–१० बुद्धनगर बस्ने ५२ वर्षीय नारदप्रसाद खतिवडा छन्।
गुरुङ सशस्त्र प्रहरी बलका पूर्व एसएसपी हुन् भने खतिवडा हास्य कलाकारका रूपमा परिचित छन्।
प्रहरीका अनुसार अध्यागमन विभागको कालिकास्थानस्थित हिरासतमा रहेका नौ जना चिनियाँ नागरिकलाई छुटाइदिने र विभागको नियन्त्रणमा रहेका थप १५ वटा राहदानीसमेत झिकाइदिने भन्दै उनीहरूले रकम लिएका थिए।
पीडितबाट नौ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदा तीन जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिमाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। आरोप पुष्टि वा खण्डन हुने विषय भने अनुसन्धान र न्यायिक प्रक्रियाबाट निर्धारण हुनेछ।





