रुओर्गाइमा १३औँ आम्दो घोडा दौड महोत्सव, घाँसे मैदानमा संस्कृति र खेलको संगम

# पासाङ ल्हामु
चीनको सिचुवान प्रान्तस्थित रुओर्गाइ (जोगे) काउन्टीमा ह्वाङ्हे नदी क्षेत्रका हेछ्यु घोडाको संस्कृति प्रवर्द्धन गर्ने १३औँ आम्दो घोडा दौड महोत्सव सम्पन्न भएको छ।
‘चिनियाँ जातीय घोडा दौड महोत्सव तथा रुओर्गाइ काउन्टी ह्वाङ्हे हेछ्यु घोडा १३औँ आम्दो घोडा दौड महोत्सव’ नाम दिइएको कार्यक्रम जुलाई १६ देखि २० सम्म पाँच दिन सञ्चालन भएको थियो।


होङसिङ टाउनको रअर विशाल घाँसे मैदानस्थित दौडस्थलमा आयोजित महोत्सवमा सिचुवान, कान्सु र छिङ्हाइ प्रान्तका विभिन्न क्षेत्रबाट आएका घोडचढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए। फराकिलो घाँसे मैदानमा आयोजित दौड हेर्न स्थानीय बासिन्दा तथा पर्यटकको उल्लेख्य उपस्थिति थियो।
महोत्सवमा घोडाको गति, सहनशीलता र घोडचढी शीप प्रदर्शनसँगै आम्दो क्षेत्रको परम्परागत संस्कृति, पोषाक, सङ्गीत र लोकजीवन प्रस्तुत गरिएको थियो। उद्घाटन समारोहमा स्थानीय समुदायका सदस्य परम्परागत पोषाकमा सहभागी भएका थिए भने सांस्कृतिक टोलीले गीत, नृत्य तथा लोककलाका कार्यक्रम प्रस्तुत गरेका थिए।
आम्दो घोडा दौड महोत्सव रुओर्गाइको प्रमुख परम्परागत सांस्कृतिक तथा खेलकुद उत्सव मानिन्छ। यसले तिब्बती पशुपालक समुदायको घोडासँग जोडिएको इतिहास, जीवनपद्धति र परम्परागत खेल भावनालाई प्रतिनिधित्व गर्छ।


ह्वाङ्हे नदीको माथिल्लो क्षेत्रमा पाइने हेछ्यु घोडा उच्च भूभाग, चिसो मौसम र लामो दूरीको यात्रामा अनुकूल प्रजातिका रूपमा परिचित छ। घोडा स्थानीय पशुपालक समुदायका लागि यातायात र पशुपालनको माध्यम मात्र नभई सांस्कृतिक पहिचान, सम्मान र सामुदायिक जीवनको महत्वपूर्ण हिस्सा रहँदै आएको छ।
पछिल्ला वर्षमा रुओर्गाइका विभिन्न टाउन तथा गाउँले नियमित रूपमा घोडा दौड प्रतियोगिता आयोजना गर्दै आएका छन्। स्थानीय प्रशासनले परम्परागत खेललाई सांस्कृतिक पर्यटन, बजार गतिविधि र ग्रामीण अर्थतन्त्रसँग जोड्ने प्रयास गरिरहेको छ।
यस वर्षको महोत्सवमा घोडचढी प्रतिस्पर्धाबाहेक परम्परागत लोकगीत गायन, वाद्यवादन, अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित नृत्य प्रदर्शन तथा जातीय परम्परागत खेलकुद प्रदर्शनी आयोजना गरिएको थियो।
आम्दो क्षेत्रका युवा पुरुष र महिलाको व्यक्तित्व, परम्परागत पोषाक तथा सांस्कृतिक प्रस्तुतिलाई समेट्ने ‘आम्दो युवक’ र ‘आम्दो युवती’ छनोट कार्यक्रम पनि महोत्सवको आकर्षण बनेको थियो।
परम्परागत गीत, नृत्य र पोषाक प्रदर्शनले स्थानीय संस्कृति प्रस्तुत गर्दा महोत्सवस्थलमा राखिएका बजार तथा प्रदर्शनी कक्षले स्थानीय उत्पादन, हस्तकला र पशुपालनसँग सम्बन्धित सामग्रीको व्यापार प्रवर्द्धन गरेका थिए।
आयोजकका अनुसार घोडा दौडसँग लोकसंस्कृति, पर्यटन र बजार गतिविधि जोड्दा स्थानीय बासिन्दा तथा व्यवसायीले सांस्कृतिक पर्यटनबाट प्रत्यक्ष लाभ लिन सक्ने वातावरण बनेको छ। कार्यक्रमले सर्वसाधारणको सांस्कृतिक जीवनलाई समृद्ध बनाउनुका साथै पर्यटन उपभोग र स्थानीय व्यापारलाई चलायमान बनाएको जनाइएको छ।
महोत्सव हेर्न पुगेकी स्थानीय दर्शक साङ्ग्ये छोले कार्यक्रम व्यवस्थित र उत्साहपूर्ण भएको बताइन्। उनले प्रतियोगीले राम्रो तयारी गरेको देखिएको उल्लेख गर्दै सबै सहभागीलाई सफलताको शुभकामना दिइन्।
आयोजकले आगामी वर्षमा प्रतियोगिताको व्यवस्थापन, सुरक्षा, सेवा तथा पूर्वाधार थप सुधार गर्ने जनाएको छ। हेछ्यु घोडासँग सम्बन्धित सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै रुओर्गाइलाई घोडा संस्कृति र घाँसे मैदान पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
महोत्सवले परम्परागत घोडा दौडलाई केवल प्रतिस्पर्धामा सीमित नराखी सांस्कृतिक सम्पदा संरक्षण, जातीय एकता, ग्रामीण पुनरुत्थान र पर्यटन विकाससँग जोडेको छ।
रुओर्गाइको विशाल घाँसे मैदानमा घोडाको दौड, परम्परागत पोषाकको रङ, लोकसङ्गीत र समुदायको सहभागिताले आम्दो क्षेत्रको जीवन्त सांस्कृतिक स्वरूप प्रस्तुत गरेको थियो।





