२० भाद्र २०८३, शनिबार

अवैध राजनीतिक कोष मुद्दामा सियोलका मेयरलाई एक करोड वन जरिवाना

ड्रागन मिडिया समाचार कक्ष

दक्षिण कोरियाको एक अदालतले अवैध राजनीतिक कोष लिएको अभियोगमा सियोलका मेयर ओ से हुनलाई एक करोड वन, करिब छ हजार ७५० अमेरिकी डलर जरिवाना सुनाएको छ।

सियोल केन्द्रीय जिल्ला अदालतले बुधबार राजनीतिक कोष ऐन उल्लङ्घन गरेको ठहर गर्दै उक्त सजाय सुनाएको हो। माथिल्लो अदालतबाट समेत फैसला कायम भए ओले मेयर पद गुमाउनेछन्।

दक्षिण कोरियाको कानुनअनुसार राजनीतिक कोष ऐन उल्लङ्घनमा अन्तिम फैसलाबाट १० लाख वन वा त्यसभन्दा बढी जरिवाना पाएका निर्वाचित पदाधिकारीको पद स्वतः समाप्त हुन्छ।

ओमाथि सन् २०२१ को सियोल मेयर उपनिर्वाचनअघि राजनीतिक ब्रोकर म्युङ ते क्युनबाट जनमत सर्वेक्षणका परिणाम लिएको र त्यसको खर्च आफ्ना दीर्घकालीन समर्थकमार्फत भुक्तानी गराएको आरोप थियो।

विशेष सरकारी वकिलको टोलीले ओले १० पटक प्राप्त गरेका सर्वेक्षणका लागि तीन करोड ३० लाख वन तेस्रो पक्षबाट भुक्तानी गराएको दाबी गर्दै उनलाई १८ महिनाको जेल सजाय मागेको थियो।

अदालतले भने पाँचवटा जनमत सर्वेक्षण ओकै आग्रहमा गरिएको र त्यसबापत उनका समर्थकले म्युङलाई दुई करोड १० लाख वन भुक्तानी गरेको ठहर गरेको छ। अदालतले उक्त रकम जफत गर्नसमेत आदेश दिएको छ।

अदालतले ओ सार्वजनिक पदमा लामो अनुभव भएका र राजनीतिक कोषसम्बन्धी कानुनबारे जानकार हुँदाहुँदै पनि जिम्मेवारी स्वीकार नगरेको टिप्पणी गरेको छ।

ओले अदालतबाट बाहिरिएपछि फैसला म्युङको बयान र अप्रत्यक्ष प्रमाणमा आधारित रहेको दाबी गर्दै पुनरावेदन गर्ने घोषणा गरेका छन्।

विशेष सरकारी वकिलको टोलीले फैसलालाई महत्वपूर्ण भनेको छ। टोलीले आफूहरूले माग गरेको सजायभन्दा कम दण्ड सुनाइएकाले पुनरावेदन गर्ने वा नगर्नेबारे समीक्षा गर्ने जनाएको छ।

ओ गत जुन ३ मा सम्पन्न स्थानीय निर्वाचनबाट पुनः सियोलको मेयर निर्वाचित भएका थिए। उनी पाँचौँपटक, फरक फरक कार्यकालमा, सियोलको मेयर बनेका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button