ब्रदर्स एफसी नरेबाङलाई ६–२ ले हराउँदै सेमिफाइनलमा

ड्रागन मिडिया समाचार कक्ष
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–११, सेराबाङमा जारी एचएससीवाईसी कप–२०८३ अन्तर्गत पुरुष फुटसल प्रतियोगितामा ब्रदर्स एफसी नरेबाङ एफसीलाई ६–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार सम्पन्न खेलमा ब्रदर्स एफसीका मोहित थापाले पाँच गोल गरे। टोलीका कप्तान भरत घर्ती मगरले एक गोल थप्दै ब्रदर्सको गोलसङ्ख्या छ पुर्याए।

खेलभर प्रभावशाली आक्रामक प्रदर्शन गरेको ब्रदर्स एफसीले नरेबाङलाई दुई गोलमा सीमित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
ब्रदर्स एफसीले बिहीबार बिहान १०ः३० बजे हुने सेमिफाइनलमा नवलपुर दाङको सामना गर्नेछ।
श्री हिमालय श्रृंखला चौरी युवा क्लबको ३१औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिता सेराबाङस्थित श्री उत्तरगंगा आधारभूत विद्यालयको प्राङ्गणमा सञ्चालन भइरहेको छ। प्रतियोगितामा पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला फुटसल, खुला दोहोरी गीत, छेलो र अन्य सांस्कृतिक कार्यक्रम समेत समावेश छन्। ब्रदर्स एफसीका अध्यक्ष विवेक सागर पौडेलको नेतृत्वमा टोलीले प्रतियोगितामा सहभागिता जनाएको छ।
प्रतियोगिता साउन २ गते उद्घाटन गरिएको थियो। ब्रदर्स एफसीका कोषाध्यक्ष राकेश पौडेलले प्रतियोगिता साउन १० गते समापन हुने जानकारी दिएका छन्।



