२० भाद्र २०८३, शनिबार

२४औँ सत्याग्रहका लागि धनगढी पुगे डा. गोविन्द केसी

ड्रागन मिडिया समाचार कक्ष

वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी २४औँ सत्याग्रहका लागि कैलालीको धनगढी पुगेका छन्।

डा. केसीले धनगढी उपमहानगरपालिका–१, एलएन चोकस्थित श्रीकृष्ण मन्दिर धर्मशालामा बिहीबारदेखि पाँचबुँदे मागसहित अनिश्चितकालीन सत्याग्रह शुरु गर्ने तयारी गरेका हुन्।

दार्चुलाबाट बुधबार जारी विज्ञप्तिमा उनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग सम्बोधन गर्न सरकारलाई साउन ५ गतेसम्म दिएको समयसीमा बेवास्ता गरिएको बताएका छन्। सरकार आफ्ना मागप्रति संवेदनशील नदेखिएकाले स्थगित आन्दोलन पुनः शुरु गर्न बाध्य भएको उनको भनाइ छ।

उनले सत्याग्रहका क्रममा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने बताएका छन्।

डा. केसीले स्वार्थको द्वन्द्व हुने गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग तथा अन्य नियामक निकायमा गरिएका नियुक्ति बदर गर्न माग गरेका छन्। उनले नियुक्ति तथा पदाधिकारी छनोटसम्बन्धी विवादित कानुनी प्रावधानसमेत शीघ्र संशोधन गर्नुपर्ने बताएका छन्।

उनको दोस्रो माग चिकित्सा शिक्षा आयोगमार्फत निजी मेडिकल कलेजमा मापदण्ड र पर्याप्त पूर्वाधारबिना सिट वृद्धि गर्ने तथा छात्रवृत्ति कटौती गर्ने निर्णय र प्रस्ताव खारेज गर्नुपर्ने छ।

उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा रहेको चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन गर्न तथा विगतमा सरकारसँग भएका लिखित सहमति पालना गर्न पनि माग गरेका छन्।

सुदूरपश्चिमसहित सीमावर्ती क्षेत्रका नागरिक स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकमाथि निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्न आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गर्नुपर्ने उनको चौथो माग छ।

पाँचौँ मागमा उनले भदौ २३ र २४ गते भएका हत्या, आगजनी, लुटपाट र विनाशका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उल्लेख गरेका छन्। साथै २०४६ सालदेखि उच्च पदमा रहेका राजनीतिज्ञ र पदाधिकारीबाट भएका भ्रष्टाचार तथा अपराधको छानबिन गर्न पनि माग गरेका छन्।

डा. केसीले आफू शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विरोधमा नरहेको स्पष्ट पारेका छन्। विश्वविद्यालयलाई शीघ्र सञ्चालन गरी सुदृढ बनाउनुपर्ने तर निजी तथा व्यापारिक स्वार्थसँग जोडिएका व्यक्तिलाई उपकुलपति, रजिस्ट्रार वा अन्य जिम्मेवार पदमा नियुक्त गर्न नहुने उनको भनाइ छ।

यसअघि साउन १ गते उनले चिकित्सा शिक्षाका नियामक निकायमा स्वार्थ बाझिने नियुक्ति खारेज गर्न, निजी मेडिकल कलेजमा प्रस्तावित सिट वृद्धि र छात्रवृत्ति कटौती रोक्न तथा चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन गर्न सरकारलाई साउन ५ गतेसम्मको समयसीमा दिएका थिए।

उक्त समयसीमाभित्र सरकारले माग सम्बोधन गर्ने ठोस पहल नगरेको भन्दै उनले मागको दायरा विस्तार गरी सत्याग्रह घोषणा गरेका हुन्।

डा. केसीले सन् २०२५ मा कैलालीकै गेटामा २३औँ सत्याग्रह गरेका थिए। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय सेवामा समान पहुँच तथा विगतका सहमति कार्यान्वयनको माग राख्दै उनी लामो समयदेखि सत्याग्रह गर्दै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button