७ श्रावण २०८३, बिहीबार

अर्ग्यानिक कृषि प्रवर्द्धनबारे प्रधानमन्त्री शाह र व्यवसायीबीच आज छलफल

ड्रागन मिडिया समाचार कक्ष

प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार, बजारीकरण तथा निर्यात प्रवर्द्धनका विषयमा नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी र व्यवसायीसँग आज छलफल गर्ने भएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहीबार पूर्वाह्न ११ः३० बजे छलफल हुने कार्यक्रम छ।

छलफलमा नेपाल अर्ग्यानिक सङ्घका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रिका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुने जनाइएको छ।

बैठकमा नेपालमा उत्पादित अर्ग्यानिक कृषि वस्तुको उत्पादन वृद्धि, गुणस्तर कायम गर्ने प्रक्रिया, प्रशोधन, आन्तरिक बजार विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने उपायबारे छलफल हुने अपेक्षा गरिएको छ।

अर्ग्यानिक उत्पादनको प्रमाणीकरण, निर्यात प्रक्रिया, उत्पादन लागत, बजार व्यवस्थापन र व्यवसायीले भोगिरहेका नीतिगत तथा प्रशासनिक समस्याबारे पनि सङ्घका प्रतिनिधिले प्रधानमन्त्रीसमक्ष सुझाव राख्ने तयारी गरेका छन्।

नेपाल अर्ग्यानिक सङ्घ जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोग प्रवर्द्धनमा क्रियाशील संस्था हो। सङ्घले नेपाली अर्ग्यानिक उत्पादनलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न नीतिगत सहजीकरण आवश्यक रहेको बताउँदै आएको छ।

प्रधानमन्त्री शाहले पछिल्लो समय उत्पादनमूलक क्षेत्र, उद्योग तथा व्यवसायका प्रतिनिधिसँग छलफल गर्दै नीतिगत समस्या र सुधारका सम्भावनाबारे सुझाव लिँदै आएका छन्।

आजको छलफलबाट अर्ग्यानिक कृषि क्षेत्रका समस्या पहिचान, बजार विस्तार, निर्यात प्रवर्द्धन र आवश्यक सरकारी सहजीकरणका विषयमा आगामी कार्यदिशा तय हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button