७ श्रावण २०८३, बिहीबार

नेपाल–रुस संग्रहालय सहकार्य विस्तार, नेपाली विशेषज्ञका लागि प्रशिक्षणको तयारी

ड्रागन मिडिया समाचार कक्ष

नेपालका लागि रुसी राजदूत अलेक्सेई सुरोभ्त्सेभले अन्तर्राष्ट्रिय संग्रहालय परिषदको रुसी राष्ट्रिय समिति, आइकम–रुसको प्रतिनिधिमण्डलसँग काठमाडौंमा भेटवार्ता गरेका छन्।

भेटमा नेपाल र रुसका संग्रहालय तथा संग्रहालय विशेषज्ञबीच प्रत्यक्ष सम्पर्क विस्तार, अनुभव आदानप्रदान, सम्पदा संरक्षण र व्यावसायिक क्षमता विकासका सम्भावनाबारे छलफल भएको नेपालस्थित रुसी दूतावासले जनाएको छ।

रुसी प्रतिनिधिमण्डलमा आइकम–रुसका उपाध्यक्ष तथा ‘आइल्यान्ड टाउन अफ स्वियाझ्स्क’ संग्रहालय–आरक्षका निर्देशक आर्तेम सिल्किन, कार्यकारी निर्देशक ओल्गा चिस्तानोभा र सञ्चालक समिति सदस्य तथा नोरिल्स्क संग्रहालयकी निर्देशक नतालिया फेद्यानिना सहभागी छन्।

प्रतिनिधिमण्डलको नेपाल भ्रमण काठमाडौंस्थित रुसी भवनको सहयोगमा आयोजना गरिएको हो। भ्रमणको उद्देश्य नेपालको संग्रहालय क्षेत्रको अवस्था अध्ययन गर्नुका साथै प्रमुख संग्रहालय तथा सम्बन्धित संस्थाका नेतृत्वसँग प्रत्यक्ष सम्पर्क स्थापना गर्नु रहेको दूतावासले जनाएको छ।

भ्रमण कार्यक्रमअन्तर्गत प्रतिनिधिमण्डलले काठमाडौं उपत्यकाका प्रमुख संग्रहालय परिसर अवलोकन गर्ने, संग्रहालय तथा सम्पदा क्षेत्रका पदाधिकारीसँग वार्ता गर्ने र संरक्षण तथा व्यवस्थापनका अनुभव आदानप्रदान गर्नेछ।

यसअघि आइकम–नेपालका प्रमुख रमेश दवाडीले नेपालस्थित रुसी दूतावासको सहयोगमा सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय संयुक्त संस्कृति मञ्चमा सहभागिता जनाएका थिए। रुसी प्रतिनिधिमण्डलको पछिल्लो नेपाल भ्रमणलाई सोही सम्पर्क र सहकार्यको निरन्तरताका रूपमा प्रस्तुत गरिएको छ।

रुसी भवनमा जुलाई २३ मा संग्रहालय क्षेत्रसम्बन्धी विशेषज्ञ गोलमेच छलफल आयोजना गर्ने कार्यक्रम छ। छलफलमा नेपालका १५ भन्दा बढी संग्रहालयका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।

गोलमेचमा संग्रहालय व्यवस्थापन, सांस्कृतिक तथा ऐतिहासिक सामग्रीको संरक्षण, अभिलेखीकरण, प्रदर्शनी व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग र संग्रहालयकर्मीको व्यावसायिक क्षमता विकासलगायत विषयमा छलफल हुने जनाइएको छ।

अन्तर्राष्ट्रिय संग्रहालय परिषद सन् १९४६ मा पेरिसमा स्थापना भएको संग्रहालय तथा संग्रहालय विशेषज्ञहरूको अन्तर्राष्ट्रिय व्यावसायिक संस्था हो। यसले सांस्कृतिक सम्पदा संरक्षण, संग्रहालयसम्बन्धी व्यावसायिक मापदण्ड, अन्तर्राष्ट्रिय सहकार्य र विशेषज्ञ सञ्जाल विस्तारमा काम गर्दै आएको छ।

रुसी प्रतिनिधिमण्डलको भ्रमणपछि नेपाली संग्रहालय विशेषज्ञको शीप र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।

यो पहलले नेपाल र रुसबीचको सांस्कृतिक सम्बन्धलाई परम्परागत आदानप्रदानबाट संस्थागत संग्रहालय सहकार्य, विशेषज्ञ प्रशिक्षण र सम्पदा संरक्षणका व्यावहारिक क्षेत्रमा विस्तार गर्ने अपेक्षा गरिएको छ।

तस्बिर: सोफिया सिल्किना

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button