धनुषामा बफर कोटाको युरिया र डिएपी वितरण शुरु

ड्रागन मिडिया समाचार कक्ष
कृषि सामग्री कम्पनी लिमिटेडको जनकपुरधाम कार्यालयले मधेश प्रदेश सरकारले वर्षे धानबालीका लागि निर्धारण गरेको बफर कोटाको युरिया र डिएपी मल वितरण शुरु गरेको छ।
धान रोपाइँको समयमा रासायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरी स्थानीय तहको सिफारिसका आधारमा मल बिक्री वितरण गर्न थालिएको हो।
कार्यालयका सूचना अधिकारी बेचन साहका अनुसार प्रदेश सरकारले स्थानीय तहगत रूपमा निर्धारण गरेको बफर कोटाबमोजिम युरिया र डिएपी उपलब्ध गराउन थालिएको छ।
बफर कोटाको वितरण शुरु भएपछि जिल्लामा केही समयदेखि देखिएको डिएपी मलको अभाव क्रमशः कम हुँदै गएको उनले बताए।
साउनको दोस्रो सातासम्म युरिया र डिएपीको थप खेप आउने अपेक्षा गरिएको छ। निर्धारित समयमै थप मल आइपुगे जिल्लामा देखिएको आपूर्ति दबाब अझ कम हुने कार्यालयको अनुमान छ।
कृषि सामग्री कम्पनीको जनकपुरधाम कार्यालयले पछिल्लो एक वर्षमा किसानका लागि १८ हजार ७४५.१ मेट्रिक टन रासायनिक मल वितरण गरेको जनाएको छ।
कार्यालय प्रमुख ध्रुव चौधरीले धान रोपाइँको मुख्य समयमा स्थानीय तहको माग र सिफारिसका आधारमा मल उपलब्ध गराउँदै मौज्दात तथा वितरण व्यवस्थापन गरिएको बताए।
प्रदेश सरकारले मुख्य बालीको समयमा देखिने आकस्मिक माग सम्बोधन गर्न बफर कोटा निर्धारण गरेको हो। उक्त कोटाको मल सम्बन्धित स्थानीय तहको सिफारिसमा तोकिएका विक्रेतामार्फत किसानसम्म पुर्याइनेछ।
मल वितरणलाई पारदर्शी बनाउन स्थानीय तहले वास्तविक किसानको आवश्यकता पहिचान गरी सिफारिस गर्नुपर्ने र सम्बन्धित निकायले बिक्री तथा मौज्दातको नियमित अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ।



