काठमाडौंमा नेपाल–रुस संग्रहालय विज्ञ संवाद सम्पन्न

ड्रागन मिडिया समाचार कक्ष
काठमाडौंस्थित रुसी सदनमा जुलाई २३ मा ‘नेपाल–रुस संग्रहालय व्यवसायी संवाद’ शीर्षकको विज्ञ गोलमेच सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषदको रुसी समिति, आईकोम रुसको नेपाल भ्रमणअन्तर्गत आयोजित कार्यक्रममा नेपालका डेढ दर्जनभन्दा बढी संग्रहालयका प्रतिनिधि सहभागी भएका थिए।
कार्यक्रमको उद्घाटन आईकोम नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीले गरेका थिए। राष्ट्रिय संग्रहालय नेपालका प्रमुख तथा पाटन संग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेलले स्वागत मन्तव्यसहित प्रस्तुति दिएका थिए।
रुसी प्रतिनिधिमण्डलका तर्फबाट आईकोम रुसका उपाध्यक्ष तथा ‘स्वियाझ्स्क द्वीप–नगर’ संग्रहालय आरक्षका निर्देशक आर्तेम सिल्किन, आईकोम रुसकी कार्यकारी निर्देशक ओल्गा चिस्तानोभा तथा संस्थाकी बोर्ड सदस्य एवं नोरिल्स्क संग्रहालयकी निर्देशक नताल्या फेद्यानिनाले सम्बोधन गरेका थिए। कार्यक्रम सञ्चालन आईकोम नेपालका रोशनसिंह मिश्रले गरेका थिए।
नेपालका संग्रहालयहरूको वर्तमान अवस्था, प्राथमिकता र संग्रहालय व्यवसायीको क्षमता अभिवृद्धिसम्बन्धी आवश्यकताबारे ओमप्रकाश घिमिरेले मुख्य प्रस्तुति दिएका थिए। रुसी प्रतिनिधिमण्डलले रुसको संग्रहालय समुदायका गतिविधि, प्रशिक्षण कार्यक्रम तथा अन्तर्राष्ट्रिय सहकार्यका लागि अघि सार्न सकिने पहल प्रस्तुत गरेको थियो।
यो भ्रमण नेपाल र रुसबीच यसअघि शुरु भएको संग्रहालय संवादको निरन्तरता भएको जनाइएको छ। सन् २०२५ जुनमा किर्गिस्तानमा आयोजित ‘संग्रहालय गठबन्धन: युरेसियाली पहल’ बैठकमा नेपाल र रुससहित भारत, संयुक्त अरब इमिरेट्स, मंगोलिया, पाकिस्तान, बङ्गलादेश, अजरबैजान, सर्बिया, आर्मेनिया र किर्गिस्तान सहभागी भएका थिए।
उक्त बैठकमा संग्रहालय आवासीय कार्यक्रमको सञ्जाल निर्माण, संग्रहालय व्यवसायीका लागि प्रशिक्षण कार्यक्रम र नयाँ व्यावसायिक पुरस्कार स्थापनाबारे छलफल भएको थियो। काठमाडौं भ्रमणको उद्देश्य नेपाली संग्रहालय नेतृत्वसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्दै ती साझा कार्यक्रमहरूमा नेपालको सहभागिताको सम्भावना खोज्नु रहेको बताइएको छ।
आर्तेम सिल्किन र ओल्गा चिस्तानोभाले ‘आईकोम रुस विद्यालय’ परियोजनाबारे जानकारी दिएका थिए। सन् २०२४ देखि २०२५ सम्म सञ्चालन भएको पहिलो चरणमा रुसका छ क्षेत्रमा छवटा प्रशिक्षण मोड्युल सञ्चालन गरिएको, १८० भन्दा बढी व्यक्ति प्रत्यक्ष सहभागी भएको, ५९ विज्ञ संलग्न भएको तथा अनलाइन प्रसारणले तीन लाखभन्दा बढी हेराइ प्राप्त गरेको जानकारी दिइएको थियो।
नताल्या फेद्यानिनाले नोरिल्स्कस्थित पोलआर्ट कला आवासीय कार्यक्रमको अनुभव प्रस्तुत गरेकी थिइन्। सन् २०१६ देखि सञ्चालनमा रहेको उक्त कार्यक्रमले दस चरण पूरा गर्दै स्क्यान्डिनेभियादेखि पेरुसम्मका २० भन्दा बढी देशका कलाकार तथा क्युरेटरलाई सहभागी गराएको बताइएको छ।
रुसी सदन काठमाडौंकी प्रतिनिधि अनास्तासिया खोख्लोभाले रुस नेपाली संग्रहालय व्यवसायीका लागि खुला रहेको बताइन्। उनले संग्रहालय अध्ययन, संग्रहालय प्रशासन र कलासम्बन्धी शैक्षिक अवसरबारे रुसी सदनले जानकारी उपलब्ध गराउने उल्लेख गरिन्। यस्ता कार्यक्रमले नेपाली युवाको क्षमता विकास गर्नुका साथै नेपालको संग्रहालय क्षेत्रलाई सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
भ्रमणपछि दुवै पक्षले आईकोम रुसले आफ्नै देशमा प्रयोग गरेको नमुनाका आधारमा नेपाली संग्रहालय व्यवसायीको क्षमता अभिवृद्धिका लागि शैक्षिक कार्यक्रम विकास गर्ने विषयमा थप गृहकार्य गर्ने सहमति गरेका छन्।
अन्तर्राष्ट्रिय संग्रहालय परिषद सन् १९४६ मा पेरिसमा स्थापना भएको संग्रहालय तथा संग्रहालय व्यवसायीको गैरसरकारी व्यावसायिक संस्था हो। संस्थाले युनेस्को र संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदमा उच्च परामर्शदातृ हैसियत प्राप्त गरेको छ। सन् १९५७ देखि सक्रिय आईकोम रुसमा हाल एक हजारभन्दा बढी व्यक्तिगत तथा संस्थागत सदस्य आबद्ध छन्।
प्रतिनिधिमण्डलले कार्यक्रमअघि नेपालका लागि रुसी राजदूत अलेक्सेई सुरोभ्त्सेभसँग भेट गर्नुका साथै काठमाडौं उपत्यकाका विभिन्न संग्रहालयको अवलोकन गरेको थियो। भ्रमण काठमाडौंस्थित रुसी सदनको सहयोगमा आयोजना गरिएको हो।
तस्बिर: सोफिया सिल्किना र सन्तोष कार्की





