चार दशकपछि १७ अव्यवस्थित बसोबासीले पाए लालपुर्जा

ड्रागन मिडिया समाचार कक्ष
झापा । ताप्लेजुङको लेलेपस्थित हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका ७२ वर्षीय जहरमान लिम्बूले अन्ततः आफूले भोगचलन गर्दै आएको जमिनको स्वामित्व प्रमाण प्राप्त गरेका छन्।
लालपुर्जा नहुँदा कुनै दिन सरकारले उठिबास लगाउने हो कि भन्ने चिन्तामा रहेका लिम्बूले बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रममा जग्गाधनी दर्ता प्रमाणपुर्जा पाएका हुन्।
लालपुर्जा पाएपछि भावुक बनेका उनले ढिलै भए पनि आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त भएकोमा खुसी व्यक्त गरे।
जहरमानसहित अर्जुनधारा नगरपालिका ११, लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीलाई जिल्ला भूमि समस्या समाधान समिति झापाले लालपुर्जा वितरण गरेको हो। लाभग्राहीमा सपना सिवा दर्जी र उमादेवी तामाङलगायत स्थानीयवासी छन्।
प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गर्दै जोखिमयुक्त बस्तीबाहेक अन्य स्थानमा वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई विस्थापित नगर्ने सरकारको नीति रहेको बताइन्।
अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले लालपुर्जा केवल कागजको टुक्रा नभई पुस्तौँदेखि नागरिकले भोग्दै आएको असुरक्षाको अन्त्य भएको बताइन्। आफू पनि अव्यवस्थित बसोबासीको पृष्ठभूमिबाट आएको उल्लेख गर्दै उनले भूमिहीन परिवारको पीडा बुझेको बताइन्।
नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङका अनुसार वडा नम्बर ११ मा यसअघि १४४ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिसकिएको छ।
नगरपालिकाले ७२९ भूमिहीन सुकुमवासी, २१२ भूमिहीन दलित र छ हजार ३५९ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ। अभियानलाई छिटो निष्कर्षमा पुर्याउन प्राविधिक तथा प्रशासनिक कर्मचारीलाई सार्वजनिक बिदाका दिनसमेत परिचालन गरिएको नगरप्रमुख तामाङले जानकारी दिए।
जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लगत सङ्कलन, पहिचान, स्थलगत अध्ययन र कानुनी प्रक्रिया पूरा गरेका वास्तविक लाभग्राहीलाई मात्र लालपुर्जा वितरण गरिएको बताए।
नापी कार्यालयका प्रमुख तथा समितिका सदस्यसचिव शिवप्रसाद लम्सालका अनुसार झापाका सबै स्थानीय तहमा लालपुर्जा वितरण प्रक्रिया अघि बढाइएको छ। मेचीनगरका पाँच जना अव्यवस्थित बसोबासीलाई पनि जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्ने तयारी गरिएको छ।





