एसएलआरमा प्रयोग हुने गोलीसहित एक जना पक्राउ
ड्रागन मिडिया समाचार कक्ष
काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका ५ स्थित टेलिकम चोकबाट सेल्फ लोडिङ राइफल (एसएलआर) मा प्रयोग हुने छ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको ज्यापू टोल बस्ने ४३ वर्षीय विकास महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार महर्जनलाई नियन्त्रणमा लिएर बरामद गोलीको श्रोत तथा प्रयोजनबारे अनुसन्धान अघि बढाइएको छ।
उनीविरुद्ध हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।





