नागरिकका गुनासा सुन्न गाउँटोलमा सांसद रानामगर

ड्रागन मिडिया समाचार कक्ष
झापा क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले निर्वाचन क्षेत्रका नागरिकसँग भेटघाट गरी स्थानीय समस्या, सेवा प्रवाह र विकास निर्माणको अवस्थाबारे जानकारी लिएकी छन्।
पछिल्लो एक सातादेखि गाउँबस्तीमा आयोजित भेटघाट तथा अन्तर्क्रियामा स्थानीयवासीले सडक, कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, वन्यजन्तु र शान्ति सुरक्षासँग सम्बन्धित समस्या राखेका छन्। रानामगरले नागरिकका गुनासा तथा सुझाव टिपोट गर्दै समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनले बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडाका नागरिकसँग प्रत्यक्ष संवाद गर्नुका साथै भागिरथा अस्पतालको निरीक्षण गरेकी छन्। अस्पताल प्रशासनसँग सेवा प्रवाह, उपलब्ध सुविधा र विद्यमान समस्याबारे छलफल गरिएको थियो।
रानामगरले हेलोचोकदेखि दक्षिणतर्फको सडक, भोटेटार चोक, गलानगाउँको अधुरो सडक तथा हात्तीकिल्ले पैनि क्षेत्रमा पुगेर पूर्वाधारको अवस्था पनि अवलोकन गरेकी छन्।
स्थानीयवासीबाट बिर्तामोडको कृषि थोकबजार व्यवस्थापन, जङ्गली हात्तीको आतङ्क, अधुरा पूर्वाधार र समयमै मल तथा बीउ नपाउने समस्याबारे धेरै गुनासा आएको उनले बताइन्।
“नागरिकले राखेका समस्या र गुनासा समाधानका लागि हामी निरन्तर क्रियाशील छौँ,” रानामगरले भनिन्, “कतिपय अवस्थामा नागरिकमा आक्रोश पनि देखिएको छ। त्यसलाई हामीले स्वाभाविक रूपमा लिएका छौँ।”
जनप्रतिनिधिको जिम्मेवारी संसदमा कानुन र नीति निर्माणमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले नागरिकका दैनिक समस्या बुझ्ने र समाधानका लागि सरकारी निकायसँग समन्वय गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताइन्।
रानामगर बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित लालपुर्जा वितरण कार्यक्रममा पनि सहभागी भएकी थिइन्। कार्यक्रममा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको थियो।
लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गर्दै उनले सुरक्षित, सम्मानित र आत्मनिर्भर जीवनका लागि भूमिमाथिको कानुनी अधिकार आवश्यक रहेको बताइन्।
“वर्षौँदेखि भूमिको स्वामित्वको प्रतीक्षामा रहेका परिवारले लालपुर्जा पाउँदा देखिएको खुसीले यस अभियानको वास्तविक महत्त्व पुष्टि गरेको छ,” उनले भनिन्।
रानामगरले प्रत्यक्ष जनसंवादमार्फत स्थानीय आवश्यकता र विकास निर्माणमा देखिएका समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताएकी छन्।
झापाका अन्य निर्वाचन क्षेत्रमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि स्थानीय नागरिकसँग भेटघाट र अन्तर्क्रियामा सक्रिय भएका छन्। झापा १ की सांसद तथा रास्वपा सहमहामन्त्री निशा डाँगी, झापा ३ का सांसद प्रकाश पाठक र झापा ४ का सांसद शम्भु सुस्केरा आआफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहेको जनाइएको छ।
झापा ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य वालेन्द्र शाह हाल प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।





