२० भाद्र २०८३, शनिबार

नाग्छुमा १६औँ यार्सागुम्बा व्यापार मेला तथा ड्रुक्मो सांस्कृतिक पर्यटन घोडादौड शुरु

ड्रागन मिडिया समाचार कक्ष

तिब्बत स्वायत्त क्षेत्रको नाग्छु शहरमा आयोजना गरिएको १६औँ यार्सागुम्बा प्रदर्शनी तथा व्यापार मेला र ड्रुक्मो सांस्कृतिक पर्यटन घोडादौड प्रतियोगिता सोग काउन्टीमा शुरु भएको छ। कार्यक्रम जुलाई २५ सम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोह ‘शाश्वत गोठालो गीत’ शीर्षकको प्रस्तुतिबाट शुरु भएको थियो। समारोहलाई ‘आनन्द’, ‘शान्ति’ र ‘प्रेम’ गरी तीन विषयगत खण्डमा विभाजन गरिएको थियो। गीत, नृत्य र जीवन्त दृश्यात्मक प्रस्तुतिमार्फत सोग काउन्टीका विशिष्ट उद्योग, स्थानीय संस्कृति, जनजीवन तथा तिब्बतलाई सहयोग गर्ने विभिन्न क्षेत्रको मैत्रीपूर्ण भावनालाई प्रस्तुत गरिएको थियो।

आयोजकका अनुसार यस वर्षको कार्यक्रममा विभिन्न विषयगत गतिविधि समावेश गरिएका छन्। ‘अनुभव र प्रदर्शनी बिक्री’लाई संयुक्त रूपमा अघि बढाउने अवधारणाअन्तर्गत यार्सागुम्बा प्रदर्शनी तथा व्यापार, घोडादौड प्रतियोगिता, जीवन्त सांस्कृतिक प्रदर्शनी र सांस्कृतिक पर्यटन प्रवर्द्धनलगायत कार्यक्रम आयोजना गरिएका छन्।

मेलामा नाग्छु क्षेत्रमा उत्पादन हुने उच्च गुणस्तरको यार्सागुम्बा प्रदर्शनीमा राखिएको छ। यसले स्थानीय समुदायको परिश्रम, आत्मविश्वास र जीवनप्रतिको उत्साहलाई प्रतिबिम्बित गरेको आयोजकले जनाएको छ।

कार्यक्रमले ‘एउटा यार्सागुम्बाले एउटा सांस्कृतिक पर्यटन मार्ग जोड्ने’ विकास अवधारणालाई मुख्य आधार बनाएको छ। यार्सागुम्बा प्रदर्शनी तथा व्यापारलाई केन्द्रमा राखेर यार्सागुम्बा उद्योगसम्बन्धी गोष्ठी, ब्रान्ड आदानप्रदान, उत्पादन प्रदर्शनी तथा व्यापारिक सम्पर्क कार्यक्रम आयोजना गरिएको छ।

यसैगरी, उत्कृष्ट यार्सागुम्बा छनोट गर्ने ‘यार्सागुम्बा राजा’ प्रतियोगिता तथा लिलामी कार्यक्रमसमेत सञ्चालन गरिएको छ। यी कार्यक्रममार्फत सोग काउन्टीको यार्सागुम्बालाई विशिष्ट स्थानीय उत्पादनका रूपमा थप स्थापित र लोकप्रिय बनाउने उद्देश्य राखिएको छ।

महोत्सवका क्रममा स्थानीय स्तरमा परम्परागत लोकखेल तथा घोडादौड प्रतियोगिताका विभिन्न श्रृंखला आयोजना गरिएका छन्। प्रतियोगितामा चाल प्रदर्शन गर्ने घोडा, तीव्र गतिका घोडा र लामो दूरीको दौड गरी तीन प्रमुख विधा समावेश छन्।

यसका अतिरिक्त ‘आकाशमार्ग जी ३१७’ अन्तर्गत उत्तरी तिब्बतका उत्कृष्ट सांस्कृतिक पर्यटन श्रोतको विशेष प्रवर्द्धन सम्मेलन पनि आयोजना गरिएको छ। सम्मेलनमा नयाँ पुस्तक विमोचन, उद्योगसम्बन्धी सम्झौता, जीवन्त सांस्कृतिक प्रदर्शनी, परम्परागत जातीय खेलकुद र सामूहिक नृत्य साँझलगायत गतिविधि समावेश छन्।

आयोजकले महोत्सवका गतिविधिलाई निरन्तर विविध र समृद्ध बनाउँदै सांस्कृतिक पर्यटन उपभोगमा नयाँ ऊर्जा थप्ने लक्ष्य लिएको छ। यार्सागुम्बा उद्योग, स्थानीय संस्कृति, परम्परागत खेलकुद र पर्यटनलाई एकीकृत गर्दै स्थानीय विशिष्ट उद्योग तथा सांस्कृतिक पर्यटन क्षेत्रको उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button