स्वकीय सचिवमा आफन्त नियुक्त गर्न रास्वपाको रोक

ड्रागन मिडिया समाचार कक्ष
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सङ्घीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ।
राज्यकोषबाट उपलब्ध हुने सुविधाको अधिकतम सदुपयोग सुनिश्चित गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी, प्रतिस्पर्धात्मक र जनउत्तरदायी बनाउन निर्देशन जारी गरिएको पार्टीले जनाएको छ।
रास्वपा महामन्त्री तथा सांसद विपिनकुमार आचार्यद्वारा जारी निर्देशनमा सांसदहरूले एकै परिवारका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाउने व्यवस्था गरिएको छ।
स्वकीय सचिव छनोट गर्दा नातावाद र परिवारवादको परिधिभन्दा बाहिरका प्रविधिमैत्री, अनुसन्धान क्षमता भएका तथा पार्टीको मूल्य, मान्यता र सुशासनको सिद्धान्तप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिनुपर्ने निर्देशनमा उल्लेख छ।
उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता स्नातक तोकिएको छ। नियुक्तिमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई प्रोत्साहन गर्न पनि सांसदहरूलाई निर्देशन दिइएको छ।
स्वकीय सचिव नियुक्त हुने व्यक्ति कुनै सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन रोजगारीमा संलग्न हुन नहुने र एकभन्दा बढी श्रोतबाट पारिश्रमिक वा आर्थिक सुविधा लिन नपाउने व्यवस्था गरिएको छ।
सांसदको सार्वजनिक जिम्मेवारीमा प्रभाव पार्न सक्ने कुनै पनि स्वार्थ बाझिने अवस्था भएका व्यक्तिलाई नियुक्त गर्न नपाइने निर्देशनमा उल्लेख छ।
स्वकीय सचिव छनोट सार्वजनिक सूचना वा खुला प्रतिस्पर्धाका माध्यमबाट गर्नुपर्नेछ। योग्य उम्मेदवार छनोट भएपछि नियुक्तिका लागि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।
सांसदहरूले स्वकीय सचिवको कार्यसम्पादन नियमित रूपमा मूल्याङ्कन गरी त्यसको प्रतिवेदन संसदीय दलमा पेश गर्नुपर्नेछ। नियुक्तिबारे विवाद, उजुरी वा प्रश्न उठेमा पार्टीले छानबिन गरी अन्तिम निर्णय गर्नेछ।
राज्यबाट स्वकीय सचिवका लागि उपलब्ध हुने तलब तथा सुविधाको कुनै अंश सांसद वा अन्य व्यक्तिले रोक्न, कटौती गर्न वा फिर्ता माग्न नपाउने व्यवस्था पनि निर्देशनमा गरिएको छ। यस्तो कार्यलाई गम्भीर आर्थिक अनियमितताका रूपमा लिइने पार्टीले जनाएको छ।
रास्वपाले आफ्ना सबै सांसदलाई उच्च नैतिक आचरण, पारदर्शिता र जनउत्तरदायित्व प्रस्तुत गर्दै निर्देशनको पूर्ण पालना गर्न भनेको छ।





