अनलाइन ठगीविरुद्ध अन्तर्राष्ट्रिय गठबन्धन स्थापना गर्दै चीन

ड्रागन मिडिया समाचार कक्ष
चीनले सीमापार दूरसञ्चार तथा अनलाइन ठगी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय गठबन्धन स्थापना गर्ने भएको छ। गठबन्धनमा सहभागी हुन हालसम्म ४० भन्दा बढी देशले इच्छा व्यक्त गरेका छन्।
चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गठबन्धनको औपचारिक स्थापना आगामी सेप्टेम्बरमा गरिने जानकारी दिएको हो।
पूर्वी चीनको च्याङसु प्रान्तस्थित ल्येनयुनकाङ शहरमा आयोजना हुने ग्लोबल पब्लिक सेक्युरिटी कोअपरेसन फोरमको २०२६ सम्मेलनका क्रममा गठबन्धनको स्थापना समारोह आयोजना गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयको आपराधिक अनुसन्धान ब्यूरोका प्रमुख च्याङ क्वोलीका अनुसार यो विश्वभरका कानुन कार्यान्वयन निकायको व्यापक सहभागिता रहने अन्तरसरकारी संगठन हुनेछ। यसको मुख्य उद्देश्य अन्तरदेशीय दूरसञ्चार तथा अनलाइन ठगीविरुद्ध प्रभावकारी र समन्वित कारबाही गर्नु हो।
उनले सबै देशलाई गठबन्धनमा सहभागी हुन आह्वान गर्दै गुप्तचर तथा सूचनाको आदानप्रदान सुदृढ बनाउन, संयुक्त कारबाहीको प्रभावकारिता बढाउन र नियन्त्रणका उपायमा समन्वय गर्नुपर्ने बताए।
“दूरसञ्चार तथा अनलाइन ठगी विश्वव्यापी समस्याका रूपमा फैलिएको छ र सामाजिक शासनका लागि ठूलो चुनौती बनेको छ,” च्याङले भने।
चिनियाँ प्रहरीले यस्ता अपराध नियन्त्रणलाई आगामी पाँच वर्षको प्राथमिकतामा राखेको छ। हाल अधिकांश दूरसञ्चार तथा अनलाइन ठगी सञ्चालन केन्द्र चीनबाहिर रहेको मन्त्रालयले जनाएको छ।
स्थापित अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन संयन्त्र र नयाँ गठबन्धनमार्फत चीनले ठगी सञ्चालन केन्द्र, आपराधिक सञ्जाल र तिनका प्रमुख व्यक्तिविरुद्धको कारबाही थप तीव्र बनाउने बताइएको छ।
चीनले पछिल्ला वर्षमा स्पेन, संयुक्त अरब इमिरेट्स र म्यानमारसहित ३० भन्दा बढी देशसँग सीमापार दूरसञ्चार तथा अनलाइन ठगी नियन्त्रणमा कानुन कार्यान्वयन सहकार्य विस्तार गरेको छ।
चीन र म्यानमारले सन् २०२३ देखि सञ्चालन गरेका संयुक्त कारबाहीबाट म्यानमारको कोकाङ क्षेत्रमा सक्रिय चार कुख्यात आपराधिक समूह विघटन गरिएको मन्त्रालयले जनाएको छ।
यसै वर्ष चीन, अमेरिका र संयुक्त अरब इमिरेट्सका प्रहरी निकायले पहिलो पटक संयुक्त कानुन कार्यान्वयन कारबाही सञ्चालन गरेका थिए। उक्त कारबाहीबाट २७६ जना संदिग्ध पक्राउ परेका थिए।
कम्बोडिया, लाओस, थाइल्याण्ड, भियतनाम, मलेसिया, इन्डोनेसिया र श्रीलङ्कालगायत देशसँगको सहकार्यबाट यस वर्ष २० हजारभन्दा बढी दूरसञ्चार तथा अनलाइन ठगीका संदिग्धलाई पक्राउ गरी चीन फिर्ता पठाइएको च्याङले बताए।





