२० भाद्र २०८३, शनिबार

बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा

ड्रागन मिडिया समाचार कक्ष

नेपाल बाल संगठनअन्तर्गत बाल मन्दिरमा भएको कथित ठगी प्रकरणमा तत्कालीन पदाधिकारी तथा कर्मचारीसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पेश गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा ठगीसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको हो।

प्रतिवादी बनाइएकामा नेपाल बाल संगठनको तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र तत्कालीन सभापति युरी कुमारी राई छन्।

त्यसैगरी तत्कालीन कोषाध्यक्ष ७४ वर्षीय दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष ६० वर्षीय प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति ६३ वर्षीय भगवान शाक्य र तत्कालीन सल्लाहकार ५६ वर्षीय रामकृष्ण चित्रकारलाई पनि प्रतिवादी बनाइएको छ।

आठ प्रतिवादीमध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य पक्राउ परेका छन्। युरी कुमारी राई, दीपकदास श्रेष्ठ, प्रयागराज श्रेष्ठ, भगवान शाक्य र रामकृष्ण चित्रकारलाई फरार प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ।

सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार उनीहरूविरुद्ध ठगीसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरिएको हो।

नेपाल बाल संगठन तथा बाल मन्दिरमा भएका अनियमितताबारे छानबिन गर्न उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित उच्चस्तरीय जाँचबुझ आयोगले विसं २०७७ मै सरकारलाई प्रतिवेदन बुझाएको थियो।

मन्त्रीपरिषदले गत चैतमा उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धान पूरा भएपछि सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button