रौतहटमा रास्वपा सांसद गणेश पौडेलमाथि मसी प्रहार

ड्रागन मिडिया समाचार कक्ष
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि रौतहटमा मसी प्रहार भएको छ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित पौडेलमाथि बिहीबार राति गढीमाई नगरपालिकामा स्थानीय युवाले पछाडिबाट मसी प्रहार गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
संसद बैठक स्थगित भएपछि मतदातासँग भेटघाटका लागि गृहजिल्ला पुगेका पौडेल विभिन्न स्थानीय कार्यक्रममा सहभागी भइरहेका थिए।
पौडेलनिकट एक व्यक्तिका अनुसार स्थानीय मुस्लिम समुदायका केही व्यक्तिले उनलाई मस्जिद भ्रमण गर्न आग्रह गरेका थिए। पौडेलले राति ढिलो भइसकेकाले अर्को अवसरमा आउने बताएपछि फर्किने क्रममा उनीमाथि मसी प्रहार भएको हो। यद्यपि, उक्त आग्रह र मसी प्रहारबीच प्रत्यक्ष सम्बन्ध थियो वा थिएन भन्ने विषय पुष्टि भइसकेको छैन।
पौडेलले घटनामा संलग्न व्यक्तिमाथि कारबाहीको माग गर्दै प्रहरीसमक्ष मौखिक जानकारी गराएका छन्। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी भइरहेको जनाएको छ।
घटनाको उद्देश्य र संलग्न व्यक्तिको पहिचानबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरेको छैन।
पौडेल गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट ४ बाट ३६ हजार ८७६ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनालाई २१ हजार ११ मतान्तरले पराजित गरेका थिए।





